रोनाल्डोले ३२ मिनेटमै ह्याट्रिक पुरा गर्दा युभेन्टसको जित, पेलेले दिए बधाई।

एजेन्सी := इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले काग्लिअरी माथि सहज जित निकालेको छ। सरडेग्ना एरेनामा सम्पन्न खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोलअन्तरको सहज जित निकालेको हो।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले ३२ मिनेटभित्रै ह्याट्रिक पुरा गरे। खेलको १० औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका रोनाल्डोले २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै तेस्रो गोल खेलको ३२ औं मिनेटमा फेडेरिको किएजाको पासमा गरेका थिए।

पहिलो हाफमा युभेन्टस तीन गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका जिओभानी सिमोनले गोल फर्काउँदा खेल ३-१ ले युभेन्टसले आफ्नो पक्षमा पार्‍यो।

ह्याट्रिक पुरा गरेसँगै रोनाल्डोले ब्राजिलियन लेजेन्ड पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका छन्। पेलेले करियरमा ७६७ गोल गरेकोमा रोनाल्डोले ७७० गोल पुर्‍याएका हुन्।

कीर्तिमान तोडिएपछि पेलेले रोनाल्डोलाई बधाइ दिँदै जीवनमा हरेकको आफ्नो यात्रा हुने र रोनाल्डोको यात्रा एकदमै राम्रो भएको उल्लेख गरेका छन्। त्यस्तै उनले रोनाल्डोको खेलहरु हेर्न आफूलाई मनपर्ने बताउँदै आफ्नो कीर्तिमान तोडेकोमा बधाइ दिएका छन्। जितसँगै २६ खेलबाट ५५ अंक जोडेको युभेन्टस तालिकाको शीर्ष तीनमा प्रवेश गरेको छ।