मेगनको आरोप बारे बेलायती दरबारले भन्यो : निकै गम्भीरतापूर्वक लिन्छौं।

एजेन्सी := मेगन मार्कलले नश्लीय विभेदको आरोप लगाएपछि बेलायती राजदरबार छलफलमा सक्रिय बनेको छ। ओपरा विन्फ्रीसँगको अन्तर्वार्तामा मेगनले राजपरिवारको एक सदस्यले आफ्नो छोराको छालाको रंगबारे टिप्पणी गरेपछि बकिङहम दरबारको आलोचना भइरहेको छ। धेरै प्रश्नहरु उठेपछि दरबारका ‘सिनियर रोयल’हरु को बैठक बसेको थियो।

राजदरबारले मेगनले लगाएका आरोपहरुलाई ‘निकै गम्भीरतापूर्वक लिइने’ बताएको छ। साथै मेगनले अन्तर्वार्ताका क्रममा निकालेका प्रसंगहरु निकै चिन्ताजनक भएको समेत जनाएको छ।

मेगनले आफूलाई ह्यारीका दाजु राजकुमार विलियमकी श्रीमती केटले विवाह हुनुअघि रुन बाध्य पारेको समेत बताएकी थिइन्। तर केट र विलियमसँग आफ्नो सम्बन्ध राम्रो रहेको उनले बताएकी थिइन्।

महारानी एलिजाबेथको तर्फबाट जारी विज्ञप्तीमा ती आरोपहरुका बारेमा दरबार आफैले सम्बोधन गर्ने उल्लेख गरिएको छ। साथै राजकुमार ह्यारी र मेगन जहिलै आफ्नो परिवारका सदस्य रहने उल्लेख गरिएको छ।

ह्यारी र मेगनले गत वर्ष शाही परिवार त्याग गर्ने घोषणा गरेका थिए।