प्रत्येक अमेरिकीको बैंक खातामा छिट्टै १४ सय डलर जम्मा हुने।

एजेन्सी := अमेरिकी राष्ट्रपति जोय बाइडेनको कोरोना भाइरस महामारी अन्तर्गतको उन्नाइस खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज चाँडै नै कंग्रेसबाट पारित हुँदैछ । परिणाम स्वरूप अब प्रत्येक अमेरिकीको बैंक खातामा तेश्रो चरणको १ हजार ४ सय डलरको चेक जम्मा हुने भएको छ । शनिबार सिनेटले यो राहत प्याकेजलाई पारित गरेर संशोधित विधेयकलाई यसै साता हाउसमा पठाउँदै छ ।

हाउसबाट सर्वसम्मतले सो विधेयक पारित हुने देखिन्छ । यसै साताको उत्तराद्र्धमा हाउसबाट पारित विधेयकमाथि राष्ट्रपति बायडेनले हस्ताक्षर गरेपछि अर्थ विभाग तथा आन्तरिक राजश्व सेवाले तत्कालै जनतालाई अर्को चरणको भुक्तानी जारी गर्नेछन् । ह्वाइट हाउसका प्रेसमन्त्री जेन साकी पत्रकार सम्मेलनमा भनेकी छन्, ‘सिनेटले पारित विधेयकअनुसार १५ करोड ८५ लाख परिवारले प्रत्यक्ष भुक्तानी पाउनेछन् ।

यो तथ्यांक गत डिसेम्बरमा जस्तै राहत प्याकेज पाउनेको ९८ प्रतिशत हुन आउँछ ।’‘अमेरिकी उद्धार योजना’ अन्तर्गतको बाइडेनको १९ खर्व डलरको करिब ४ खर्व ५० अर्ब प्रत्यक्ष रूपमा अमेरिकी जनताको खल्तीमा जाने भएको छ । प्रत्येक वैधानिक व्यक्तिलाई १ हजार ४ सय र उनीप्रति आश्रित थप एकजनालाई पनि १ हजार ४ सय डलर प्रदान गर्ने कार्यक्रम रहेको छ । संशोधित पछिल्लो विधेयकका अनुसार वार्षिक ७५ हजार डलर आय हुने व्यक्तिले पूरा भुक्तानी पाउनेछन् ।

तर, ८० हजार कमाउनेले भने अलि कम रकम पाउनेछन् । यहि नियम भत्ताका सयुक्त रूपमा आवेदन गर्नेहरूको वार्षिक आय १ लाख ५० हजार डलर भएको खण्डमा तिनीहरूले २ हजार ८ सय डलर नै पाउनेछन् भने १ लाख ६० हजार कमाउने जोडीले अलि कम रकम पाउनेछन् ।

यसअघि, यो आय सिमा एकलका लागि १ लाख र जोडीका लागि २ लाख डलर तोकिएको थियो ।तर, तेश्रो चरणको राहत सहयोगका लागि व्यक्तिले तिरेको पछिल्लो कर रकम र उनको मिलान गरिएको आयमाथि निर्भर हुने बताइएको छ ।

आन्तरिक राजश्व सेवाले कुनै पनि अमेरिकीको सन् २०१९ वा २०२० को कर भुत्तानीको आधारमा सो व्यक्ति प्रत्यक्ष राहत भुक्तानी पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गर्ने भएको छ। कोरोना भाइरसको कारण विश्वमै सबैभन्दा बढि अमेरिकीको ज्यान गएको छ । त्यहाँ संक्रमणको कारण मर्नेको संख्या पाँच लाख नाघिसकेको छ ।