बाँके:= सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । धनगढी घर भएकी चौधरीले एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिईन् ।
सर्वाेत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् । यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, ब्लकर एपीएफकी हिरा के.सी, सेटर पुलिसकी कमला पुन, लिब्रो न्यु डाइमण्डकी सलिना श्रेष्ठ, सर्भर प्रतिभा माली र प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।
विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यससचिव रमेशकुमार सिलवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणा, उपमेयर उमा थापा,लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेड लगायतले पुरस्कार वितरण गरे ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा २१ फागुनबाट सुरु भएको प्रतियोगितामा तीन विभगीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको थियो।




















