काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद बैठकमा उठेको प्रश्नको जवाफ दिनु भएको छ । उहाँले दाहाल–नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गर्नुभएको छ ।
आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ’प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ प्रधानमन्त्री ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा दिनु भएको हो ।
ओलीले भन्नुभयो, ’हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।’ उहााले उल्टै रावललाई प्रश्न गर्नुभयो, ’मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने।’
प्रतिनिधिसभा पुन:स्थापनापछि पहिलो दिन बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्ड–नेपाल समूहले देखाएको व्यवहारको बारेमा टिप्पणी गर्दै उनले भने, ‘धामी नाच नाचेको हो कि, बैठक बसेको हो कि , माननीय भन्ने शब्द प्रयोग हुने व्यक्तिहरुले माननीय शब्दको अनर्थ लाग्ने गरी व्यवहार गरे।’
निर्वाचनमा जान नदिएकाहरुले नै संसदलाई चलाउन नसकेको उनको भनाइ छ। उनले भने, ‘कोही बाहिर गए, कोही नारा जुलुस गर्ने, एसिड आक्रमण विरुद्धको विधेयक पास हुन नदिने सेटिङ मिलाएका हुन्।’ उनले भने ।
सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविकको एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।




















