आजदेखि कुवेतमा रात्रिकालीन १२ घण्टे कर्फ्यु, घरेलु श्रमिक कुवेत प्रवेश गर्न पाउने।

एजेन्सी (कुवेत) := कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न कुवेत सरकारले आजदेखि अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु लगाउने भएको छ ।

कुवेत न्युज एजेन्सी कुनाले जनाएअनुसार कुवेतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो । साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइने भएको हो । यस्तै अप्रिल ८ सम्म सबै पार्कहरु बन्द गरिनेछन् । तर प्रार्थनाको लागि नजिकका मस्जिदसम्म जान भने रोक लगाइएको छैन ।

कर्फ्यु लागू भएसँगै गैर कुवेतीलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । तर कुवेती नागरिक तथा उनका नजिकका आफन्त, घरेलु कामदार र कुटनीतिज्ञहरुलाई भने प्रवेश खुला छ । कुवेत प्रवेशपछि अनिवार्य १४ दिनको क्वरेण्टीन भने बस्नुपर्ने मन्त्रीपरिषदको निर्णयलाई उदृत गर्दै कुनाले लेखेको छ ।