एजेन्सी := अमेरिकाको वासिङ्टनस्थित युएस क्यापिटल भवनमा हुनसक्ने सम्भावित आक्रमणलाई लिएर सुरक्षा व्यवस्था थप गरिएको छ । एउटा छापामार समूहले ४ मार्चमा त्यहाँ आक्रमण गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा यसरी सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको बताइएको छ । क्युएनन नामक समुहले डोनाल्ड ट्रम्प दोश्रो कार्यकालमा फर्कने विश्वास गरेको थियो ।
प्रतिनिधिसभाले बिहीबारको अधिवेशन रद्द गरेको छ । तर, सिनेटले भने आफ्नो काम कारबाहीलाई निरन्तरता दिएको छ । गत जनवरीमा ट्रम्पका समर्थकहरू क्यापिटल भवनभित्र जबर्जस्ती प्रवेश गरेका थिए । विधायकहरू नव निर्वार्चित राष्ट्रपति जोय बाइडेनलाई आधिकारिक मान्यता दिने तयारीमा रहेकाबेला सो आक्रमण भएको थियो । त्यसवेला समर्थक र प्रहरीबीच भएको भिडन्तमा एकजना प्रहरी अधिकारीलगायत पाँचजना व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि क्यापिटल प्रहरी फौजका अध्यक्षले पदबाट राजीनामा दिएका थिए । ट्रम्पले अझैसम्म पनि चुनावी पराजय स्विकारेका छैनन् ।
मातृभूमि सुरक्षा विभाग र संघीय जाँचबुझ ब्युरो (एफबिआई) द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ – ‘फेब्रुअरीको उत्तरार्धतिर एउटा अज्ञात उग्रवादी तथा हिंसात्मक छापामार समूहले ४ मार्चमा वा त्यसको वरपर युएस क्यापिटलमाथि कब्जा गरी डेमोक्रेटिक विधायकहरूलाई त्यहाँबाट हटाउने योजनामाथि छलफल गरेको खबर प्राप्त भएको छ ।
साथै सो समूहले हजारौं व्यक्तिलाई सो कार्यमा सहभागी गराउन वासिंगटन डीसी ल्याउने विषयमा पनि छलफल गरेको बुझिएको छ ।’फ्रेब्रअरीको उत्तराद्र्धमा निमित्त क्यापिटल प्रहरी प्रमुख योगानन्द पिटम्यानले ट्रम्प समर्थकहरूको जनवरीको आक्रमणको दौरान क्यापिटललाई विस्फोट गरेर उडाउने तथा विधायकहरूको हत्या गर्ने उद्देश्य रहेको कंग्रेसलाई जानकारी गराएका थिए ।
पूर्वअमेरिकी रक्षामन्त्री तथा केन्द्रीय गुप्तचर निकाय (सीआईए) का प्रमुख लियोन पनेटाले जनवरीको घटनाबाट पाठ सिकिसकेका प्रहरीले कुनै पनि हालतमा त्यहाँ त्यस्तो घटना दोहोरिन नदिने कुरा बीबीसीलाई बताएका छन् ।




















