काठमाडौं:= नयाँ चलचित्र ‘गोर्खा वारियर २’ बन्ने भएको छ । साहसिक गोर्खाली सैनिकको विषयमा निर्माण हुने यो चलचित्र यही २७ फागुनबाट छायांकन सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्र मिलन चाम्सले निर्माण तथा निर्देशन गर्दै हुनुहुन्छ ।
कार्यक्रममा शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा गरियो । चलचित्र ‘गोर्खा वारियर’को छायांकन गर्न केही ढिला हुने भएकाले ‘गोर्खा वारियर २’ छायांकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र ‘गोर्खा वारियर’ बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा जानकारी दिनुभयो ।
युद्धमा शाहदत्त प्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरियो । निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्यसहित कार्यक्रममा प्रकाश पार्नुभयो । गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको उहाँले बताउनुभयो । गोर्खा वारियर चलचित्र ४ शृंखलासम्म निर्माण गर्ने घोषणा चाम्सले गर्नुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो चलचित्रले नेपाल नेपालीलाई गोर्खा सैनिकको रूपमा श्रव्य दृष्यमार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गर्नुभयो । यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको बताउनुभयो ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको निर्माता मिलन आफैं हुनुहुन्छ । जसमा सहनिर्मातामा सुरेश राई, पूर्ण लिम्बू रहनुभएको थियो । चलचित्रलाई नेपालसहित मलेशिया र बेलायतमा छायांकन गरिने बताइएको छ ।
यो चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई, मनोज केसीसहितको मुख्य भूमिका रहनेछ । रितेस चाम्स यो चलचित्रबाट नवनायकको रूपमा डेब्यु गर्दै हुनुहुन्छ । साहसिक गोर्खाली सैनिकको बारेमा चलचित्र निर्माण हुन लागेको र आफू गोर्खा सैनिकको अफिसरको रूपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुशी लागेको अभिनेता विजय लामाले बताउनुभयो ।
हास्य अभिनेता बुद्धि तामाङले आफू होचो कदको भए पनि गोर्खाली सैनिकको रूपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको बताउनुभयो । आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदीप बराल डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।




















