ताप्लेजुङ:= ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ नम्बर वडास्थित खाम्लुङको दोभान बजारमा भीषण आगलागी भएको छ ।
आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।
उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिनुभयो ।
आगो नियन्त्रणको लागि स्थानीय, प्रहरी, ससश्त्र प्रहरी र नेपाल आर्मीको टोलीसहित फुङ्लिङ नगरपालिकाको बारुण यन्त्रले प्रयास गरिरहेको छ । तर पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन ।




















