प्रवासीको आर्थिक सहयोगमा पहिरो पीडितको लागि घर निर्माण।

म्याग्दी । गत असारमा गाउँ माथिबाट आएको भीषण पहिरोले घर बगाएपछि बेघरबार भएका म्याग्दीको मालिका गाउँपालिका ७ बिमका पहिरो पीडितहरुलाई प्रवासी म्याग्देलीहरुको आर्थिक सहयोगमा गाउँपालिकाले धमाधम आवास पुनः निर्माण गरिरहेको छ ।

पहिरोले विमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएका थिए। ती मध्ये बाइन्दफाँटमा २ वटा घर बनिसकेका छन् भने  १८ वटा निर्माणाधीन अवस्थामा रहेका मालिका गाउँपालिका वडा नं ७ विमका वडाअध्यक्ष रेशम जुग्जाली (सुविन) ले जानकारी दिनुभयो ।

अध्यक्ष जुग्जालीका अनुसार गाउँपालिका, प्रवासी म्याग्देली, दाताको सहयोगमा आवास पुननिर्माणले तिब्रता पाएको हो । जग्गा भएकाले आफैं र नभएकाका लागि जग्गा खोजेर आवास पुनर्निर्माण सुरु गरेको उहाँले बताउनु भयो । वैशाखभित्रै सबै घर निर्माण गरीसकेर पीडितलाई सुरक्षित बास ब्यवस्था मिलाउन जुटेको वडाध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।

अध्यक्ष जुग्जालीका अनुसार बिम मालिका संघले २० लाख रुपैयाँमा खरिद गरेको ५ रोपनी जग्गामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले १० वटा घर निर्माण थालेको छ । मोनाले पुनर्निर्माण गर्ने पहिरोपीडितको एकीकृत बस्तीमा गाउँपालिकाले खानेपानी, सडक र बिजुली व्यवस्थापन गर्नेछ ।

एकिकृत बस्तीमा घर निर्माणको कार्यले तिब्रता पाएको मोनाका अगुवा दल शेरवुजाले जानकारी दिए । उनका अनुसार, मोनाले म्याग्दीमा मालिकामा १० सहित जिल्लामा कुल ४० परिवार बाढीपहिरो पीडितको आवास पुननिर्माण थालेको छ । बिमका पहिरोपीडितको घर पुनर्निर्माण गर्न इन्द्रेणी सांस्कृतिक समूहले उपलब्ध गराएको २७ लाख, वडा कार्यालयको विपद् व्यवस्थापन कोषमा संकलित ३ लाख ७५ हजार र बिम मालिका संघले ४० लाख रुपैयाँ परिचालन गर्नेछन् ।

गाउँपालिकाले प्रतिपरिवार १ लाख रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको छ । प्रतिपरिवार रु ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णयअनुसार पहिलो चरणमा सबैलाई १ लाखका दरले पेस्की उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ ।

संघीय सरकारले गत महिना हिमाली जिल्लाका पहिरोपीडितलाई घर पुनर्निर्माण गर्न ५ लाख रुपैयाँका दरले अनुदान दिने कार्यविधि ल्याएको छ ।

सरकारको अनुदानको आश गर्दा ढिला र झन्झट हुने भएकाले दाताको सहयोगका साथै आफ्नै स्रोतबाट घर निर्माण सुरु गरेको पीडितहरुको भनाई छ । पहिरोले बिममा ७ जनाको मृत्यु र १ जना बेपत्ता भएका थिए । जिल्लाभर पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए ।

८१ वटा बस्तीमा पहिरोका कारण क्षति भएका २ सय ४७ र जोखिममा परेका ८ सय २१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । पूर्ण क्षति भएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले जुटाएको २ करोड रुपैयाँबाट बिमसहित जिल्लाभर ४० वटा घर पुनर्निर्माण सुरु गरिसकेको छ ।

मालिकाको बिममा १०, धवलागिरिको मराङमा १०, धारापानीमा ४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४÷४ वटा घर बनाउन पालिकासँग समन्वय गरि आवास पुननिर्माण सुरु भैसकेको छ । मोनाले प्रति घर रु ५ लाख रुपैयाँभित्र ३ कोठे घर र एउटा शौचालय बनाएर उपलब्ध गराउने जनाएको छ ।

घर निर्माणका लागि इन्टरलक इट्टाको प्रयोग गरिएको छ । आफ्ना लागि आवास निर्माण हुँदै गरेको देखेर पहिरो पीडितहरु खुसी भएका छन् ।