काठमाडौं := राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छन् । साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले वलीलाई सांसद बनाएको टिप्पणी गरेका पन्तप्रति आक्रोश व्यक्त गर्दै वलीले पन्त कतिसम्म निच रहेको भन्ने कुरा बल्ल खुलेको जनाएकी छन् ।
वलीले महिला कुनै पदमा पुग्न पन्त जस्तो दरिद्रसोचको व्यक्तिको सिकार हुनुपर्ने बताउँदै लेखेकी छन, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको होरुकेयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ।’
वलीबारे के भनेका थिए पन्तले?
एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका छन्। ‘छन् महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।’
वलीले भने सारी सरक्क सर्काएर गोरा पिडुंला देखाएको भरमा सांसद पाएको पन्तको दाबी भिडियोमा देख्न सकिन्छ। ‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो,’ पन्तले भनेका छन्, ‘कपाल फुलेर चाउरी पर्या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।’




















