बैतडी := बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।
दोगडाकेदार गाउँपालिका–७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको बताए।
भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको उनले बताए।

उनका अनुसार आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र बयानका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि सार्वजनिक गरिएको हो।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलीपल्ट हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्।




















