काठमाडौं:= अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन ३३ दिनमा सकिएको छ । गएको शनिबार पोखरामा छायांकन सकिएको टिमले जनाएको छ ।
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा शनिबार एक कार्यक्रमबीच निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्मको छायांकन अवधिभर साथ र सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो । ‘रुद्रप्रिया र रज्जा रानी’ फिल्मको निर्माण गरिसकेका उनले ‘तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यु गर्नुभएको हो । फिल्म निर्माणबाट बटुलेको अनुभवलाई आफूले निर्देशनमा खन्याएको उनले बताउनुभयो ।
त्यस्तै, पुष्प खड्काले फिल्म राम्रो बनेको दाबी गर्न सकिने अवस्था रहेको बताउनु भयो । कार्यक्रममा फिल्मका लेखक तथा कार्यकारी निर्माता सवीर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि आफ्नो धारणा राख्नु भएको थियो । यो फिल्म नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरूमा प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिनुभयो । नेपालमा भने आउँदो वर्षको दशैं र तिहारको बीचमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।
फिल्ममा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय छ । योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सहनिर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधीर पराजुली हुनुहुन्छ ।




















