काठमाण्डौं:= सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री प्रचण्ड सहित सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरेको छ । हिजो नै सबै गाडी र सुरक्षाकर्मी फिर्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
फिर्ता भएकामा प्रहरी र सशस्त्रबाट खटिएका अंगरक्षक, पछुवा सुरक्षा, निवास सुरक्षा, चालक र भान्से समेत छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सुरक्षामा तैनाथ करिब ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ ।
पूर्वराजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र प्रहरी नागार्जुन सुरक्षा बेस’ र निर्मल निवासमा राजेन्द्र गुरागाईंको कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम खटिँदै आएको थियो । सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो । दुईवटा भ्यान फिर्ता गरिएपछि ज्ञानेन्द्रको सुरक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ । आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् ।
पछिल्लो कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अंगरक्षकका रूपमा २ जना नेपाल प्रहरी खटाइने उल्लेख छ । देउवा र नेपालको सुरक्षामा सशस्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए ।
यसैगरी १० जना पूर्वगृहमन्त्रीको सुरक्षार्थ तैनाथ पछुवा गाडी र सशस्त्रका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम रावल, गोपालमान श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा खटिएका पछुवा गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता गरिएका छन् ।
पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षार्थ खटाइएका गाडी र सशस्त्र प्रहरी पनि फिर्ता हुने क्रममा रहेको सशस्त्रले जनाएको छ । अब पूर्वउपप्रधान र गृहमन्त्रीहरूलाई सुरक्षा थ्रेट मूल्यांकनका आधारमा नेपाल प्रहरीका जुनियर अधिकृत २ जनासम्म खटाइने छ ।



















