काठमाडौं := प्रचण्ड-नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसदर रामकुमारी झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार उनलाई शंखमुलस्थि निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले झाँक्रीविरुद्ध ‘राज्यको कसुरविरुद्ध अपराध’ मुद्दामा पक्राउपूर्जी लिएर पुगेको थियो। कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले आफूमाथि प्रहरीको पक्राउ पूर्जि आएको भन्दै राज्यको इमान्दार नागरिकको हैसियतमा गिरफ्तारि दिएको बताइन्।
‘सरकारको आदेश अनुसार म आफ्नै निवासबाट गिरफ्तारि दिँदै छु’, उनले भनिन्,‘ तमाम युवा साथीहरूलाई मायाका लागि न्यानो अभिवादन।’ उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भए क्षमायचना गर्ने बताइन् ।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्। उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।
‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।
झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।
झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।
बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्। मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ।




















