[ राम अवतार चौधरी ]
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । “खेलमा शिवराज नगरपालिकाको आधार कृषि उद्योग, पर्यटन र पूर्वधार, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ । शिवराज नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको महोत्सवमा ३९ प्रकारका खेलामा १ हजार १२५ जना खेलाडीहरुको सहभागीता भएको नगरपालिकाले जनाएको छ । यस्तै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३४ र मेयर उपमेयर कप तर्फ ५ प्रकारका खेलाहरु आयोजना हुने बताईएको छ ।


खेलको उद्धघाटन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम राख्न सक्ने भएकोले शिवराज नगरपालिकाले खेललाई प्राथमिकतामा राखेको उनले बताए । विगतका वर्षहरु पनि खेल आयोजना भएको बताउँदै थप व्यवस्थित गरि यस वर्ष एक हप्ता सम्म खेल महोत्सव आयोजना गरिएको नगर प्रमुख अधिकारीले जनाए । खेलकुद प्रतियोगिताले युवायुवतीहरुलाई दुव्र्यसनिवाट हटाउन सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे । नगरप्रमुख अधिकारीले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिका तत्पर रहेको जनाउँदै नगरका खेलाडीलाई प्रदेशस्तरका खेलहरुमा सहभागी गराउनुपर्नेमा नगर प्रमुख अधिकारीले जोड दिए ।



उक्त खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते लगायतका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने नगर खेलकुद विकास समितिका संयोजक बेल्वासेले बताए । त्यसैगरी मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ ,महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने उनले जनाए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहने छ भने मेयर उपमेयर कप तर्फ फुटबलमा १३ र क्रिकेटमा ७ टिम दर्ता भएको बताउँदै महोत्सव यहि माघ ३० गतेसम्म चल्ने संयोजक बेल्बासेले जानकारी दिए ।






















