बारा := निजगढ नगरस्तरीय तेश्रो मेयर कप फुटबल प्रतियोगिता फागुनमा हुने भएको छ । फागुन १ गते देखि निजगढ नगरस्तरीय तेश्रो मेयर कप फुटबल प्रतियोगिता संचालन गर्न तयारी शुरु गरिएको हो ।
निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको प्रतियोगिता फागुन १ गतेबाट शुरु भई फागनु १४ गतेसम्म संचालन हुने आयोजक निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापाले बताउनु भयो । नगरस्तरीय फुटबल प्रतियोगिता भएकोले नगरका १३ वटै वडाका विभिन्न क्लबहरुले यसमा भाग लिने जानकारी गराइएको छ ।
निजगढ नगरपालिका ९ स्थित शहिद हिरालाल रंगशालामा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ४५ हजार रुपैंया सहित ट्रफी पाउने व्यवस्था गरिएको आयोजक क्लबका कोषाध्यक्ष स्वर्ण लामाले जानकारी दिनु भयो । प्रतियोगिता अवधि भरि फुटबल प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी प्रदान गरिने उहाँले बताउनु भयो ।
प्रतियोगिता संचालनको लागि करिब ८ लाख रुपैंया खर्च हुने आयोजक निजगढ फुटबल क्लवले अनुमान गरेको छ । प्रतियोगिता संचालनको लागि ८ लाख रुपैंया निजगढ नगरपालिकाले उपलब्ध गराउने आयोजक क्लबले जानकारी दिएको छ ।
कोरोना भाईरस संक्रमणको कारण गत वर्ष संचालन हुन नसकेको निजगढ नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उपाधि निजगढ नगरपालिका ५ ले हासिल गरेको थियो भने पहिलो संस्करणको उपाधि वडा नम्बर ४ ले जितेको थियो ।




















