काठमाडौं:= मिस नेवाः प्रतियोगिले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालको १५औं संस्करणका प्रतियोगिहरूले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका हुन् । नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१ का रूपमा हुने प्रतियोगिताका प्रतियोगीले कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट शोमा आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् ।
ट्यालेन्ट शोमा प्रतियोगी नेवार सुन्दरीहरूले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले सिसंया देगु बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो भने मनीका खड्गी कुमारी नृत्य देखाउनु भएको थियो ।
त्यसैगरी रुचिका तण्डुकारले राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गर्नुभएको थियो भने कृषा महर्जन, सिर्जा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य प्रस्तुत गर्नुभएको थियो । पूर्वमिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अञ्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले बाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रस्तुत गर्नुभएको थियो ।
मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः नेपालअन्तर्गतको मिस नेवाः नेपाल ट्यालेन्टेड उपउपाधिका लागि ट्यालेन्ट शो आयोजना गर्ने गरिएको बताउनुभयो । नेप्लीज फेसन होमले नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेषभूषा चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्तर्गत हरेक वर्ष मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ ।




















