पिएम कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने।

काठमाडौं := प्रधानमन्त्री कप (पिएम)कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफले पहिलो सेमिफाइनलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो । आर्मी र एपीएफबीचको फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

बागमतीलाई आर्मीले ९६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्मीले दिएको २३० रनको लक्ष्य पछ्याएको बागमती ४० ओभरमा सबै विकेट गुमाएर १३४ रनमा समेटियो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन जोड्नुभयो । उहाँले ६० बलमा चार चौका प्रहार गर्नुभएको थियो ।

यस्तै बागमतीका विपिन आचार्यले १३, आदिल खानले १० रन जोड्नुभयो । बागमतीका ओपनर आकाश थापाले खाता नै खोल्न सक्नुभएन । यस्तै विभत्सु थापाले चार र पृथु बास्कोटाले एक रनमात्रै जोड्नसक्नुभएको थियो ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ९१ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । यस्तै भिम सार्कीले ४०, विक्रम सोबले ३५, लोकेश बम २३, सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाउँनुभयो । बागमतीका गौतम केसीले ५ विकेट लिनुभयो । उहाँले १० ओभरमा एक ओभर मेडन राख्दै ६१ रख खर्चनुभएको थियो ।

आर्मीले सुरुवात भने राम्रो गरेन । १७ रनमै उसले तीन विकेट गुमाइसकेका थिए । ओपनर हरि चौहन तीन, अनिल मण्डल दुई रनमा आउट हुनुभयो भने रोहित पौडेलले खाता नै खोल्न सक्नुभएन । भीम सार्की र लोकेश बमले आर्मीको पारी सम्हालेका थिए । त्यसपछि भीमसँग मिलेर राजेशले पारी अघि बढाउनुभएको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल आर्मी क्लब र बागमती प्रदेश भिड्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख तथा उपविजेता टोलीले पाँच लाख पाउने छन् । यस्तैसेमिफाइनलमा पुग्ने टिमले ५० हजार, प्लेयर अफ दि सिरिजले ५० हजार, उत्कृष्ट व्याट्सम्यान र बलरले समान २५ हजार पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।