दुई गीतको करोड भ्युज सेलिब्रेशन।

काठमाडौं:= पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा म्युजिक भिडियो निकै बन्ने गरेका छन् । चलचित्र क्षेत्रको अवस्थालाई कोरोना कहरले ठूलो प्रभाव पारेपछि म्युजिक भिडियोको क्षेत्रलाई कुनै प्रभाव पारेको देखिँदैन । पहिलो वर्षको तुलनामा यस वर्ष अत्यधिक म्युजिक भिडियो बनिरहेका छन् । अहिलेको स्थितिमा युट्युबमा अपलोड गरेर त्यसको आम्दानीको आधारमा कलाकारहरू चल्नुपर्ने अवस्था छ । त्यसैले भिडियो युट्युबमा कसरी धेरैले हेर्ने बनाउने भन्नेमा निर्माता लागिरहेको देखिन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा युट्युबमा करोड भ्युज पु¥याउन निकै कसरत गरेको पाइन्छ । अझ पछिल्लो समय विभिन्न वुष्टको बाटो अपनाएर पनि करोड भ्युज ल्याउनमा निर्माता तथा कलाकार निकै लागिरहेका हुन्छन् । तर यही भीडमा कतिपय गीतबिना वुष्ट, बिना कसरत नै करोडभन्दा बढीले हेर्छन् । गीत आफैंमा मीठो भएमा युट्युबमा पनि धेरैले हेर्नेमा कतिपय सर्जक ढुक्क छन् ।

यसैबीच बिहीबार नेपाली लोक तथा दोहोरी गीतका दुई गीत युट्युमा करोड भ्युज पुगेकै अवसरमा केक काटियो । ‘पछ्यौरी लिस्यो’ बोलको लोकगीत र ‘झ्यालमा पर्दा छ’ बोलको गीतको टिमले फरकफरक समय र फरक ठाउँमा आआफ्नो तरिकाले केक काटेर सेलिब्रेशन गरेको हो । ‘पछ्यौरी लिस्यो’ गीतको टिममा गीतका गायक अर्जुन सापकोटा, गायिका समीक्षा अधिकारी, मोडल विमल अधिकारीलगायत छन् । कार्यक्रममा युट्युबमा अपलोड गरिएको ३५ दिनमै करोड पटक हेरिएकोमा खुशी व्यक्त गर्दै दर्शक तथा निर्माण पक्ष र कलाकारको टिमलाई धन्यवाद दिइयो । विशेषगरी यस गीत टिपिकल गाउँघरमा गाइने प्रत्यक्ष दोहोरी किसिमको भएकाले दर्शकले बढी रुचाएको बुझ्न सकिन्छ । भिडियोमा केटा र केटी पक्ष दुई तिर आमुन्ने सामुन्ने बसेर सवालजवाफ गरिएको छ । सेलिब्रेशन कार्यक्रममा गीतका अर्का गायक रविन लामिछानेको अनुपस्थिति थियो ।

यस्तै अर्को गीत ‘झ्यालमा पर्दा छ’ को टिमले करोड भ्युजको सेलिब्रेशन गरेको छ । तीन महिनाको अवधिमा युट्युबमा १ करोड २० लाख बढीपटक हेरिएको छ । उक्त गीतका गायक खेम सेञ्चुरी र गायिका सुमन थापामगर लगायतको टिमले केक काटेको थियो । साथै सो अवसरमा नयाँ गीत ‘ऊँखु गुलियो’ पनि सार्वजनिक गरियो । जुन गीतमा चन्द्र शर्मा र जानुका तामाङको स्वर छ । गीतमा संगीत खेम सेञ्चुरीको छ भने भिडियोमा खेमसँगै अञ्जलि अधिकारी, जुना सुन्दास, करिश्मा ढकाल, गीत ढुंगाना र लोसिना लामिछानेको अभिनय छ ।