[ सञ्जय चौधरी ]
चितवन := थारु समुदायको मुख्य पेशा खेतीपाति भएतापनि माछा मार्ने पेशा होईन। तर थारुमा माछा मार्ने कला भने हुन्छ। माछा मार्न प्रयोग गरिने वस्तु अनि माछा मार्ने कला अन्य समुदाय भन्दा थारु समुदायमा फरक छ। थारु समुदायहरुले मान्ने हरेक चाडपर्वमा माछा मार्ने चलन अनिवार्य रुपमा थियो तर अहिले विभिन्न कारणले यो परम्परा करिव करिव लोपउन्मुख अवस्थामा पुगिसकेको छ। आजभोली हरेक चाडपर्वमा बजारहरुमा माछाको बजार लाग्ने गर्दछ। बजारबाटै पोखरीका माछा किनेर ल्याछन्।
थारु समुदायहरुको माछा मार्ने स्थान खोला नाला नै हो। अहिले राष्ट्रिय निकुञ्ज स्थापना भएपछि माछा मार्ने परम्परा लोपउन्मुख अवस्थामा पुगिसकेको छ। पहिला सम्पूर्ण गाउँवासी एकजुट भएर माछा मार्ने गर्दथे। यस्का लागि खोलाहरुमा बाधहरु बाधेर पानीको धारलाई परिवर्तन गरी माछा मार्ने गरिन्थ्यो। यसरिनै दिनभरी माछा मार्ने चलन थियो। दिनभरिमा करिब करिव २५/३० कुईन्टल माछा लिएर गाउँ पर्किन्थे अनि त्यो माछा गाउँका सम्पूर्ण परिवारमा बराबर भाग लगाईन्थ्यो।

एकैचोटी धेरै मात्रामा माछा मार्न सकिने जालबाट पनि धेरै तरिकाबाट माछा मार्न सकिन्छ। सामान्यतया जालबाट धेरै माछा भएको स्थानमा गई माछा मारिन्छ। यो कार्यलाई जाल हान्ने भनिन्छ। अर्को तरिकामा काचो माटोमा गहुँ अथवा चामलको पिठो मिसाई माटोलाई गोलो बानाई माछाको संख्या धेरै भएको स्थानमा राखिन्छ। केही समयपछि त्यही स्थानमा जाल हानिन्छ। यसलाई थारु भाषामा भुषहारी भन्ने गरिन्छ।

घौंका प्रयोग गरेर माछा मार्ने तरिका पनि करिव करिव हराउने अवस्थामा पुगिसकेको छ। जस्लाई घौंकहरी भन्ने गरिन्छ। यस्मा जालमा प्रयोग हुने मसिनो धागो यस्मा प्रयोग गरिएको हुन्छ। जसमा अंग्रेजी ‘डी’ आकारको बिड लगाईएको हुन्छ। जाल प्रायजसो पुरुषहरुले माछा मार्न प्रयोग गर्छन् भने घौंका पुरुष र महिला दुबैले प्रयोग गर्छन्। माछा मार्न थारुहरु आफैंले बनाएका औजार प्रयोग गर्छन्। महिला र पुरुषहरुले फरक–फरक औजार प्रयोग गरी माछा मार्छन्। घौंका प्रायजसो स साना माछाहरु मार्न प्रयोग गरिन्छ।
घौंकाले माछा मार्दै थारु महिला
धान खेतहरुमा बग्ने पानी, कुलोमा बग्ने पानीहरुमा थाप्ने ढडीयालाई (बणीयार) भन्ने गरिन्छ। यो ढडीया कुलेसोहरुमा रातभरी त्यसै थापेर छोडिन्छ अनि अर्को दिन बिहानै निकाल्ने गरिन्छ। यस्मा पनि थुप्रै माछाहरु पर्ने गर्दछ।
माछा मार्ने ढडीया
पानी कम भएका स-साना कुलेसोहरुमा परिवारका केही सदस्यहरु मिलेर माछा मार्ने कामलाई ओदहा भनिन्छ। यस्मा आफुले पहिल्यै देखेका कुलेसोहरुमा गई पानी फालेर माछा मार्ने गरिन्छ।असारको अन्तिमतिर रोपाईं सकेर फुर्सदिला भएकाहरु धान नपाक्दासम्मको समयमा खाल्डाखुल्डी र पानी जम्ने खेतमा माछा मार्ने गर्छन्।




















