काठमाडौं:= सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।
एपीएफले दिएको २०४ रनको लक्ष्य पछ्याएको पुलिस दुई बल बाँकी रहँदा १७३ रनमा समेटियो । पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै राशिद खानले ३४, दीपेन्द्रसिंह ऐरीले ३३ र अनिल साहले २१ रन बनाउनुभयो । एपीएफका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहरा र शरद भेषावकरले दुई÷दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसका शंकर रानाले ४४ रनको योगदान दिनुभयो । ९६ बलको सामना गर्नुभएको उहाँले चार चौका प्रहार गर्नुभयो । यस्तै भुवन कार्कीले ४२ रन जोड्नुभयो । उहाँले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गर्नुभयो ।
त्यसबाहेक एपीएफका सन्दीप जोराले ३४, कप्तान शरद भेषावकरले १८, कमलसिंह ऐरीले १९ र अविनाश बोहराले ११ रन जोड्नुभयो । एपीएफको सुरुवात भने राम्रो भएको थिएन । १२ ओभरमा ४१ रन बनाउँदा उसले तीन विकेट गुमाइसकेको थियो ।
एपीएफले पाँचौं ओभरमा आसिफ सेखलाई एक रनमै गुमाएको थियो । आठौं ओभरमा विकेटकिपर सुवास खकुरेललाई आरिफ सेखले बोल्ड पार्नुभयो । यस्तै कप्तान भेषवाकरलाई आरिफले नै विकेटकिपर अनिल साहको हातबाट क्याच गराएपछि धरमराएको एपीएफको पारीलाई शंकर राना र सन्दीप जोराले उठाउनुभएको थियो । राना र जोराबीच पाँचौं विकेटका लागि ६४ रनको साझेदारी भएपछि एपीएफको पारी अघि बढेको थियो ।
नेपाल पुलिस क्लबका आरिफ सेखले तीन विकेट लिनुभयो । उहाँले १० ओभरमा एक ओभर मेडन राख्दै ३१ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिनुभयो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल आर्मी क्लब र बागमती प्रदेश भिड्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख तथा उपविजेता टोलीले पाँच लाख पाउनेछन् । यस्तै सेमिफाइनलमा पुग्ने टिमले ५० हजार, प्लेयर अफ दि सिरिजले ५० हजार, उत्कृष्ट व्याट्सम्यान र बलरले समान २५ हजार पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।




















