[ राम अवतार चौधरी ]
कपिलवस्तु := कपिलवस्तुको शिवपुरमा खानेपानी ओभरहेड ट्याङकीको मंगलबार शिलान्यास गरिएको छ । जिल्लाको शिवराज–१, रेन्जरपोष्टमा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय खानेपानी सरसफाई डिभिजन कार्यालय बुटवल अन्तर्गत शिवपुरमा ४५० घन मिटर क्षमता भएको ओभरहेड ट्याङकी निर्माण हुन लागेको शिवपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीले जनाएको छ ।
शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै हरेक नागरिकको घर–घरमा स्वच्छ खानेपानी पु्याउने सरकारको दायित्व रहेकोले शिवपुर गाउँको लागि प्रदेश सरकारको तर्फबाट निर्माण हुन लागेको बताएका छन् ।
यस्तै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले कार्यक्रममा बोल्दै स्वास्थ्य समाज निर्माणका लागि पानी शुद्ध हुनुपर्ने पानी कै कारण विभिन्न रोगहरु लाग्ने हुदाँ ओभरहेड निर्माण पछि धारामा आउने पानी सिधै पिउन सकिने बताएका छन् । शिवराज नगरपालिकामा मात्रै ४ वटा खानेपानीका योजनाहरु प्रदेशबाट परेकोले अब नगरका सबै नागरिकले शुद्ध पिउने पानी पाउने विश्वास समेत केसीले व्यक्त गरे । ओभरहेड निर्माण सम्ममा स्थानिय बासीले हरेक तबरबाट उपभोक्ता समितिलाई सहयोग पु्याउनुपर्ने उनको भनाई छ ।


ओभर हेड निर्माण सँगै अब पाइप लाइन विस्तारको काम हुने भएकोले पाइपलाईन विस्तारमा स्थानिय उपभोक्ताको सहयोग अपरिहार्य हुने उपभोक्ता समितिका अध्यक्ष ढुण्डिराज अधिकरीले जानकारी दिए । आयोजनाको काम चुस्त दुरुस्त हुनेमा अधिकारीले ढृढता व्यक्त गरे । आयोजना अन्तर्गत भवन ७८ किलोमिटर पाइपलाइन विस्तारको काम हुने अध्यक्ष अधिकरीले बताए ।
१ करोड ४३ लाख ८ सय ७७ लागतमा ट्याङकीको निर्माण हुन लागेको खानेपानी सरसफाइ सब डिभिजनका प्राविधिक तिलक न्यौपानेले बताए । शिवपुर खानेपानीको कुल लागत भ्याट बाहेक करिब १६ करोड रहेको जनाउँदै कुल लागतको १ प्रतिशत उपभोक्ताले रकम जम्मा गर्नुपर्ने र सो रकम उपभोक्ता समितिले मर्मत संभारका लागि प्रयोग गर्नुपर्ने प्राविधिक न्यौपानेले जानकारी दिए।
निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनले ओभरहेड ट्याङकी निर्माण अवधी २४ महिना भए पनि काम गर्ने शिलशिलामा बाधा अवरोध नआएमा १० महिनामा नै सम्पन्न गरिसक्ने कन्ट्रक्सनका व्यवस्थापक सागर खड्काले बताए । शिलन्यास कार्यक्रममा नगर उप–प्रमुख शिवकुमारी थारु, वडा अध्यक्ष जगत जिसी, कार्यपालिका सदस्यहरु लक्ष्मी हमाल, टिका वि.क लगायत जनप्रतिनिधी र स्थानियहरुको सहभागिता रहेको थियो ।





















