सर्लाही := सर्लाहीसहित मध्यपूर्वी तराईमा बढेको अत्यधिक चिसोले जनजीवन कष्टप्रद बन्न थालेको छ । एक्कासि मौसममा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेसका जिल्लामा जाडो बढेको हो । घाम नदेखिएर थरथरती मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
पछिल्लो एक सातादेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउँदा घामको अनुभूतिसमेत पाइएका छैनन् । सन्ध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ ।
जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् । शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता व्यक्त गरेका छन् ।
चिसो धेरै बढेपछि सडकमा सर्वसाधारणको हिँडडुल पातलिन थालेको छ । सवारीसाधन कम मात्रामा सडकमा देखिन थालेका छन् । चिसोले सार्वजनिकस्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम भएको छ । अत्यधिक जाडो बढेपछि आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्था नभएकाहरूकोे कन्तविजोग भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको पुस पहिलो साता बसेको बैठकले जिल्लाका सबै पालिकालाई सहुलियत दरमा काठ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, डिभिजन वन कार्यालय सर्लाहीमा अहिलेसम्म हरिपुर नगरपालिका र मलंगवा नगरपालिकाले मात्रै काठ लैजानका लागि रकम जम्मा गराएको डिभिजन वन प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो।
विपन्न परिवारसँग न्यानो लुगा तथा उचित वासस्थानको अभाव हुने भएकाले उनीहरूलाई चिसोको प्रकोपले बढी सताएको छ । स्थानीय तहले आफ्ना जनतालाई चिसोबाट बचाउन पहल नगर्नु लाजमर्दो कुरा भएको नागरिक समाज सर्लाहीका अगुवा उग्रकान्त झाको भनाइ छ । अहिलेसम्म दुई नगरपालिकाले काठ बुझेका छन् भने अरू पालिकाहरूले यस विषयमा वास्तासमेत गरेका छैनन् । जिल्लाका पालिकाहरूको बेवास्ताले गर्दा स्थानीय विपन्न, दैनिक मजदुरी गर्ने परिवारलगायतलाई जाडोका कारण दैनिकी चलाउन गाह्रो भएको छ ।

चिसो बढ्दै गएकाले विपन्न तथा दलित बस्तीमा वितरण गर्नका लागि काठको व्यवस्थापनमा छिट्टै जुट्ने बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताउनुभयो । गरिबीमाथि चिसोले आक्रमण गर्दा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू धेरै प्रभावित बनेका छन् । सर्वसाधारणले कतिपय ठाउँमा आगो बालेर चिसो भगाउने प्रयास पनि गरिरहेका छन् । बाक्लो हुस्सुका कारण नजिकको दृश्य पनि देख्न सक्ने अवस्था नभएपछि सवारी चालक समस्यामा परेका छन् । ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढेको भन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । भिजिविलिटी कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने र दुर्घटनाको जोखिम बढेकाले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
मौसममा आएको परिवर्तनसँगै तापक्रममा नियमित गिरावट आउँदा ज्यान बचाउने उपायको खोजी उत्तम विकल्प हुने सरोकारवालाले सुझाएका छन् । मौसम प्रतिकूल हुँदा तराई यस क्षेत्रमा हवाई सेवा पनि प्रभावित बन्न थालेको छ ।
लगातारको चिसोले बस्तीबस्तीमा बिरामी हुनेको संख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी बढेका छन् । गरिब बस्तीका वृद्धवृद्धा, स–साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेको चिकित्सकले बताएका छन् ।
चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । विनाप्रयोजन घर बाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुँवा ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्याना लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।




















