सशस्त्र प्रहरी पानी मुनी गएर खोज्न सक्ने जनशक्तिः डिआइजी प्रधान।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले सशस्त्र प्रहरीमा पानी मुनी गएर भए पनि खोज्न सक्ने जनशक्ति रहेकाले देशको कुनै पनि ठाउँमा विपतको कारण लामो समयसम्म समस्या नहुने बताएका छन् । जिल्लाको शिवराज–५, चन्द्रौटामा शुक्रबार आयोजित बृहत् जनचेतनामुलक कार्यक्रममा महानिरीक्षक प्रधानले यस्तो बताए ।

२३ आँै भुकम्प सुरक्षा दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाको आयोजनामा भएको जनचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी प्रधानले सशस्त्र प्रहरीले जिल्ला जिल्लामा विपत व्यावस्थापन समुह निर्माण गरेको जानकारी दिए । स्थापना काल देखि नै विपत तथा प्रकोपको सामना गर्दै जनताको सेवामा समर्पित रहेको बताउँदै सशस्त्र प्रहरीको मुख्य काम नै विपतमा सशस्त्र प्रहरी परिचालित हुनु रहेको महानिरीक्षक प्रधानले बताए ।

सशस्त्र प्रहरीमा जस्तो सुकै विपतको पनि सामना गर्न सक्ने क्षमता रहेको उनले बताए । सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनीका बाहिनीपती समेत रहेका प्रधानले नागरिकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती गराउन सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले विशेष जोड दिएको डीआईजी प्रधानले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले जस्तो सुकै विपतमा समेत उद्धार कार्यमा सशस्त्र प्रहरीको भुुमिका अतुलनिय रहेको भन्दै प्रशंसा गरेका छन् । भुकम्प, बाढी पहिरो आगलागी जस्ता विपतमा सशस्त्र प्रहरीले धेरै नेपालीहरुको ज्यान जोगाउन सफल भएको समेत उनले जनाए ।

त्यसैगरी शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले विपत भइपरि आउने भएकोले यसबाट आम नागरिक सचेत हुनुपर्ने बताए । विपदबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा सबै जानकार हुन जरुरी रहेको नगरप्रमुख अधिकारीले जनाए । सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाले विपतबाट बच्न सकिने अभ्यास बारे प्रस्तुती समेत रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक निलकण्ठा भण्डारीले जानकारी दिए ।