माघी (खिचरा) मा चितवनका थारुको विशेष परिकार चिच्चर (प्वाका)

[ सञ्जय चौधरी ]

चितवन := थारु समुदायका लागि माघे संक्रान्ति , तिला संक्रान्ती अर्थात माघी विशेष पर्व हो। उनीहरु यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। (माघे संक्रान्ति) खिचरा पर्वको दिन थारुहरूले चिच्चर (प्वाका) नामक परिकार बनाएर खाने परम्परा चल्दै आएको छ।

चिच्चर पकाउनका लागि अघिल्लो दिन नै अनदीको चामल भिजाएर राख्ने गरिन्छ। भोलिपल्ट त्यो चामललाई माटो भाँडा (पैनी) मा राखी बाफको सहायताले पकाइन्छ। चिच्चर पकाउन दुईवटा भाँडाको प्रयोग गरिन्छ। सुरुको सिलवरको भाँडामा पानी राखिन्छ। माटोको भाँडाको तलपट्टि बाँसको चोयाले बुनेको जाली राखिन्छ। त्यो भाँडाको पिँधमा बाफ छिरोस् भन्नका लागि मसिना प्वाल बनाइएको हुन्छ। माथिल्लो भाँडामा अनादीको चामल राखिन्छ । चामललाई बाफले पकाएपछि चिच्चर तयार हुन्छ।

थारुहरूले विशेष महत्वका साथ खाने चिच्चर स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मान्ने गरिन्छ। चिच्चरमा प्रोटिन तथा कार्बाेहाइड्रेट पनि पाइने हुनाले शरीरलाई उर्जा दिने काममा सहयोग पुर्‍याउँछ। यो जाडो मौसमको अमृत सरह मानिन्छ।

पोका खाएपछि निकै न्यानो महशुस गर्न सकिन्छ। चिच्चर खाने तरिका पनि अलि नौलो नै छ। चिच्चर पकाइसकेपछि भोर्लाको पातमा राखिन्छ। त्यसपछि चिच्चरलाई त्यही पातले बेरिन्छ । बाहिरबाट मसिनो डोरी बेरेर चिच्चरलाई गोलो आकार दिइन्छ। भोर्लाको पात लिन जंगल नै पुग्नुपर्ने भएकाले अचेल सहजताका लागि भोर्लाको पातको सट्टा केराको पात पनि प्रयोग गर्न थालिएको छ।