वैदेशिक रोजगारीमा जानेले म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्नुस्: विभाग।

काठमाडौं := वैदेशिक रोजगारीमा जान लागेका नेपालीहरुलाई म्यानपावर कम्पनीद्वारा ठगिन बाट जोगिनलाई सतर्कता अपनाउन वैदेशिक रोजगार बिभागले आग्रह गरेको छ।

आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले एक सुचना सार्वजनिक गर्दै आग्रह गरेको छ।

बिभागका अनुसार पछि आवश्क पर्दा आफूले म्यानपावरलाई कति रकम बुझाएँ भन्ने प्रमाण नहुँदा श्रमिक स्वयमलाई समस्या हुने गरेको भन्दै आधिकारिक खातामा मात्र पैसा जम्मा गर्न र पैसा बुझाएको भौचर वा रसिद आफैसँग सुरक्षित साथ राख्न विभागले आग्रह गरेको हो।

इजाजतप्राप्त म्यानपावर कम्पनीलाई पनि श्रमिकहरुबाट लिने रकम संस्थाको बैंक खातामार्फत गराउन निर्देशन दिएको छ । यस्तै छनौट भएका श्रमिकबाहेक अरुको सक्कल राहदानी तथा कागजातको सक्कल प्रतिलिपि राख्ने काम नगर्न विभागलाई सूचीत गरेको छ ।

[ वैदेशिक रोजगार विभागले जारी गरेको सार्वजनिक सुचना ]

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आफू कुन देश जान लागेको र के काम हो भन्ने कुराको राम्रोसँग जानकारी लिएर तथा कसैको प्रलोभनमा नपरेर जान विभागले आग्रह गरेको छ ।  

यस्तै विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई अन्तर्वार्ता छनौट भएपछि मात्र म्यानपावर कम्पनीलाई आफ्नो सक्कली राहदानी बुझाउन पनि आग्रह गरेको छ। अन्तर्वार्तामा छनोट नभइ आफ्नो सक्कली राहदानी लगायत कागजात नबुझाउन र चाहिएकै खण्डमा प्रतिलिपी (फोटोकपी) बुझाउन विभागले आग्रह गरेको हो।