पत्नी सीताको थप स्वास्थ्य उपचारको लागी प्रचण्ड भारत उडे।

काठमाडौं := लामो समय देखि अस्वस्थ्य रहेकी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि सोमवार भारतको मुम्बई लगिएको छ। गत बुधवार अचानक स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भैसेपाटी स्थिती मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार सम्भव नहुने अवस्था देखिएको र स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि सीतालाई उपचारका लागि भारत लगिएको हो। सीतालाई भारत लैजाने तयारी गर्दै गर्दा अचानक स्वास्थ्यमा समस्या आएर तत्कालै अस्पताल भर्ना गरिएको थियो ।

उनको मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिने जनाइएको छ। श्रीमती सीताको स्वास्थ्य अवस्थाको जटिलताका कारण प्रचण्ड स्वयं पनि साथमै भारत गएका छन्।

उनको साथमा दुई छोरी (रेणु र गंगा) पनि गएका छन्। सीताको भारत, मुम्बईमा रहेको एक अस्पतालमा उपचार गरिने पारिवारिक स्रोतले जनाएको छ।

केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित सीतालाई केहीदिन अघि ललितपुरको मेडिसिटीमा राखेर उपचार गराइएको थियो।

२०७५ साउनमा स्वास्थ्यमा जटिलता देखिएपछि सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो। सो अस्पतालले सीतामा देखिएको स्वास्थ्य समस्या प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी भनी पहिचान गरेको थियो।

त्यसपछि विभिन्न अस्पतालमा उपचार गराइए पनि स्वास्थ्यमा सुधार भएन। २०७५ चैत ३ गते अमेरिकाको जोन हप्किन्स अस्पतालमा पनि उनको उपचार गराइएको थियो।

यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत उनलाई लगियो। तर पनि स्वास्थ्यमा सुधार भएन।

गत बुधबार एक्कासी स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई घरमै राखिएको थियो।