काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै निरन्तर प्रदर्शन हुँदै आएको छ ।
विभिन्न राजनीतिक दलले त्यसको विरोधमा कार्यक्रम गर्दै आइरहेका छन् भने ‘बृहत् नागरिक आन्दोलनले’को नाममा नागरिक समाजले पनि विरोधका कार्यक्रम गर्दै आइरहेको छ । यही विरोधका कार्यक्रममा शनिबार माइतीघर मण्डलामा नाटक प्रदर्शन गरिएको छ । संसद् पुनःस्थापनाको माग गर्दै शनिबार कलाकारहरूले नाटकमार्फत विरोध गरेका छन् ।


शनिबारको आन्दोलनका सहभागीहरूले प्रधानमन्त्री ओलीको शान, सार्वभौम जनताको अपमान’, ‘इतिहासको पाठ हो, प्रतिगमन टिक्दैन’, ‘संसद् विघटनको दुस्साहस’, लोकतन्त्रको उपहास’, ‘सावधान जनता, सार्वभौमसत्ता भयो दमन, घरघर आउँदैछ प्रतिगमन’, ‘खै मेरो संविधान ?’, र ‘सर्वोच्च अदालत सावधान, जोगाएर राख तिम्रो मान’ लेखिएका प्लाकार्ड बोकेका थिए । माइतीघरमा निरन्तर लेखक, कवि, कलाकारलगायतले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।





















