‘जिन्दगीको पारा मिलेको चार वर्ष भयो’: पल शाह।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रका युवास्टार पल शाह अहिले म्युजिक भिडियोमा खुवै व्यस्त हुनुहुन्छ । उहाँले कोरोना भाइरसको महामारीबीचमै पनि ७० बढी भिडियोमा काम गरिसक्नुभयो। पलले म्युजिक भिडियोको सम्पादन हुँदै मोडलिङ र चलचित्रको अभिनयको यात्रा थाल्नुभएको थियो । अहिले उहाँले जिन्दगीको पारा मिलेको चार वर्ष पुगेको बताउनुभयो । 

बुधबार राजधानीमा एक कार्यक्रमबीच पल अभिनित ‘पारा मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले जिन्दगीको पारा मिलेको अर्थात् आफ्नो जिन्दगीमा राम्रा दिनहरूको सुरुवात भएको चार वर्ष पुगेको बताउनु भएको हो । ‘सायद चार वर्ष पुग्यो होला, लाइफको पारा मिलेको’ पलले भन्नुभयो, ‘दर्शकले मन पराइदिनु भएको छ । यसमै खुशी छु ।’

पललाई पछिल्लो केही महिनायता एक प्रश्नले बारबार सताइरहन्छ, त्यो हो, एक यतिधेरै म्युजिक भिडियोमा काम गरिरहनु भएको छ ? आफ्नो करिअर आफैंले धरापमा पारे जस्तो लाग्दैन ? यो प्रश्नमा पल भन्नुहुन्छ, ‘अहिलेको समयमा चलचित्र हेर्न अवस्था छैन । नयाँ चलचित्र बन्न सकेका छैनन् । यो समयमा म्युजिक भिडियो बढी हेरिएको छ । फेरि मैले काम गरेका जति पनि भिडियोहरू छन्, सबैलाई दर्शकले माया गरिदिनुभएको छ । त्यसैले पनि एकपछि अर्को भिडियोमा काम गरेको हुँ । दर्शकले माया गर्न छाड्ने बित्तिकै मैले पनि भिडियोमा काम गर्न कम गर्छुृ ।’

पलले नेपाल सरकारले कोराना कहरको अवस्थामा केही खुकुलो पारेपछि आफूले म्युजिक भिडियो निर्माणमा जुटेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी केही साथीभाई मिलेर ए है माया बोलेको गीत लकडाउन खुकुलो हुनासाथ जनतन निर्माण गरेका थियौं । दर्शकले निकै मन पराउनुभयो । त्यसपछि दैनिक १० वटा म्युजिक भिडियो बन्ने गरेका छन् ।’ पलले पछिल्लो समय अभिनय गरेका गीतमध्ये केही युट्युबमा करोड भ्युज पनि पुगेका छन् । पलका अनुसार चारवटा म्युजिक भिडियो करोड भ्युजमा छन् भने अन्य थुप्रै भिडियो ५० लाखमाथि भ्युज पुगेका छन् । 

पलले एक भिडियोमा काम गरेको कम्तीमा पनि १ लाख पारिश्रमिक लिने गर्नुहुन्छ । उहाँले आफूले लिएको पारिश्रमिक अनुसार ‘आउटपुट’ दिएको बताउनुहुन्छ । पललाई दैनिक म्युजिक भिडियोमा काम गर्न अफर आइरहन्छन् ।

बुधबार दामी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक ‘पारा मिलेन’ बोलको गीतमा निशान भट्टराई र रचना रिमालको स्वर छ । यस्तै गीतमा डिपी खनालको शब्द, शंकर थापाको संगीत छ । भिडियोमा पल शाहसँगै एलिस राई, दीपा श्रेष्ठ, दमन्ता श्रेष्ठको अभिनय छ । विधान कार्कीले निर्देशन गर्नुभएको भिडियोमा माधव शर्मा एसोसियट डिरेक्टर हुनुहुन्छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।