प्रचण्ड कुर्सीमै केन्द्रित भएपछि ओलीको पक्षमा लागेंः प्रभु साह

काठमाडौं := नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले देशलाई बर्बाद गर्न लागेपछि प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले एक वक्तव्य जारी गर्दै मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा गर्न र स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आह्वान गरेका हुन्।

‘विगतमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने काम गरेको प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्सीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको देखियो’ उनले भने, ‘प्रचण्डको सत्ता लोभको परिणामस्वरुप कम्युनिष्ट आन्दोलन धरासायी भएको तथा सिङ्गो मुलुक नै अस्तव्यस्त स्थितिमा पुगेको छ।’

असफल भईसकेको दुई अध्यक्ष प्रणाली पुनः प्रचण्ड र माधव नेपालले अंगिकार गरेर उनले बताए। ‘ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्नुको सट्टा राजालाई दाम चढाएको, दुई क्षेत्रबाट हारेर प्रधानमन्त्री भएको, महाधिवेशनबाट पराजित भएर अध्यक्ष बन्न नसकेको पदको लोभी माधव नेपाललाई अध्यक्ष बनाइनु देशको जनादेश विपरीत भएको र समग्र कम्यूनिष्ट आन्दोलनलाई लज्जित भएको छ’ उनले भने।