जहाँका जनताले सांसद चुनेको अनुभूति नै नगरी प्रतिनिधिसभा विघटन भयो।

काठमाडौं := २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरु प्रतिनिधिसभा विघटनसँगै कोही सडक संघर्षमा उत्रिएका छन्, कोही वैशाखमा हुने भनिएको निर्वाचनको तयारीमा जुट्न थालेका छन् । प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक रहेको दावीसहित सर्वोच्च अदालतमा दायर रिटहरुमाथि सुनुवाई भइरहेको छ।

प्रतिनिधिसभा विघटनको वैधानिकताबारे सर्वोच्च अदालतले फैसला गर्ने नै छ, यद्यपि तर यी सब घटनाक्रमलाई प्रतिनिधिसभाका अन्य निर्वाचन क्षेत्रका तुलनामा कैलाली क्षेत्र नम्बर १ मा भने पृथक ढंगले हेर्न थालिएको छ।

कैलाली क्षेत्र नम्बर १ त्यस्तो एकमात्र निर्वाचन क्षेत्र हो जहाँका मतदाताले प्रतिनिधिसभाको यो कार्यकालभर संघीय संसदमा आफ्नो प्रतिनिधि रहेको र आफ्ना क्षेत्रका समस्यालाई संघीय संसदमा राखेको अनुभूति गर्न पाएनन्।

किनकि यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशमलाल चौधरीले ढिलै भए पनि सांसद पदको सपथ त लिन पाए तर संसद बैठकमा कहिल्यै सहभागी हुन पाएनन्। न त आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिलाई उनले नेतृत्व गर्न पाए ।

कैलालीकै टीकापुर काण्डमा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका चौधरीले जेलमै रहेको अवस्थामा सांसद पदको सपथ लिए पनि सांसदको हैसियतले काम गर्ने अवसर पाउन नसकेका हुन्।source:Tanka kunwar/Ratopati