काठमाडौं := नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हिजो आइतबार साँझ बसेको संयुक्त बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठकमार्फत प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशका लागि निर्वाचनमा जाने सिफारिस राष्ट्रपति समक्ष गरेका थिए। बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटन गर्ने सरकारको निर्णयको संयुक्त विरोध गर्ने सहमति भएको बताए।
बैठकमा नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ र जनार्दन शर्मा सहभागी थिए। यस्तै कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु बालकृष्ण खाण, डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए। यस्तै जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित थिए।
बैठकबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रम ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो। यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो। यो सरकार अब कुन पार्टीको हो, नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो।’




















