पिपल्स च्वाइस अवार्डमा महिला खेलाडीको वर्चस्व।

काठमाडौं:= नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २८ गते आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ का लागि ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा परेका पाँचमध्ये चारजना महिला खेलाडी छन् ।

मञ्चले आम खेलप्रेमीले आफ्नो मतबाट उत्कृष्ट खेलाडी चुन्न पाउने ‘पिपल्स च्वाइस विधा’ का लागि पाँचजना खेलाडीको नाम सार्वजनिक गरेको हो । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पर्नु भएको छ ।

गतवर्ष उहाँहरूले पाएको सफलता र चर्चाका आधारमा यी पा“च खेलाडी मनोनयनको हकदार भएको मञ्चले जनाएको छ । गतवर्ष नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला खेलाडीले उच्च सफलता हासिल गरेका कारण महिला खेलाडीहरूको वर्चस्व रहेको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा हुनेछ । भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङअनलाइन शुक्रबारबाट सुरु भई पुस २७ गते राति १२ बजेसम्म खुला रहने मञ्चले जनाएको छ ।

यसैबीच, नेपाल खेलकुद पत्रकार मञ्चले ‘डिजिटल पेमेन्ट पार्टनर’का लागि शुक्रबार ई–सेवासँग सहकार्यसमेत गरेको छ । सहकार्यसम्बन्धी सम्झौता पत्रमा मञ्चका महासचिव प्रज्वल ओली र ई–सेवाका सीओओ रोशन लामिछानेबीच हस्ताक्षर गरेको थियो । ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ । फेसबुक पेजको २५ प्रतिशत र पत्रकार, मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ । फेसबुकमा भोटका लागि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक गर्न सकिने मञ्चले जनाएको छ ।

पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गर्नेछौं । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमको दिन पुस २८ गते गरिनेछ । 

विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गर्नेछौं । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट हृयाम्पर प्रदान गरिने मञ्चले जनाएको छ ।