सांंसद रेशम सहित थारु जेलबन्दीको रिहाईको लागि थरुहट मोर्चाले सशक्त आन्दोलन गर्ने।

कैलाली := टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका थारुहरुको मुक्ति (रिहाई) को लागि थरुहट/थारुवान राष्ट्रिय मोर्चाले राज्य विरुद्ध सशक्त आन्दोललनको तयारी थालेको छ।

टीकापुर घटना मुद्दामा कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाउदै उच्च अदालत दिपायलले गरेको फैसला प्रती मोर्चाको गम्भीर ध्यानाकर्षण भएको बताउदै सशक्त आन्दोलनको तयारी थालिएको मोर्चाका केन्द्रिय महासचिव तुलसी थारुले बताउनुभयो।

महासचिव तुलसी थारुले बताए अनुसार केही दिन भित्रमा जिल्ला जिल्लाबाट मोर्चाका सदस्यहरुलाई काठमाडौं बोलाएर विशेष बैठक गरिनेछ। सोही बैठकले राज्य विरुद्ध
सशक्त आन्दोलनको घोषणा गर्ने बताउनुभयो।

‘उच्च अदालत दिपायलको निर्णयको खेद प्रकट गर्दछौ। रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारुलगायत अन्य प्रतिवादीको हकमा तथ्यपरक निर्णय गर्नुका साटो फेरि पनि राजनीतिक पूर्वाग्रह राखेर गरेको फैसलाको घोर भत्सर्ना गर्दछौ। फैसलाले दीर्घकालीन द्वन्द्व निम्त्याएको छ।’ मोर्चाको भनाइरहेको छ।

उच्च अदालत दिपायलको फैसला अनुसार प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत ७ जनाको हकमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको फैसला मिलेकै देखिदा सदर गरेको छ।’

प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं ंको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(४) बमोजिम जन्म कैद हुने ठहर छ।’

साथै निजलाई सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ। अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनर्वेदक प्रतिवादीको पुर्नवेदन जिकिर पुग्न सक्दैन। डाँका चोरी तर्फ वादी नेपाल सरकारको पुर्नवेदन जिकिर पुुग्न सक्दैन, सो फैसलामा भनिएको छ। यसअघि जिल्ला अदालत कैलालीले थरुहट नेता लक्ष्मण थारुलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो। उक्त अवधि जेलमा नै काटिसकेकाले उनलाई रिहा गरिएको थियो।