श्रमिकको रुपमा नेपालीलाई इजरायल पठाउन प्रक्रिया सुरू।

काठमाडौं := नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौता अनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । अहिलेकै जस्तो उत्साहले काम भएमा नेपाली श्रमिक इजरायल पठाउन आगामी पुसदेखि छनोट प्रक्रिया सुरु हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले इजरायलमा नेपाली श्रमिक पठाउने विषयमा छिट्टै प्रोटोकलमा हस्ताक्षर गरिने बताउनुभयो। नेपाल सरकारका तर्फबाट कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गर्ने अधिकारको मन्त्रिपरिषद्बाट टुङ्गो लागेपछि श्रमिक छनोट प्रक्रिया अगाडि बढ्ने पनि उहाँको भनाइ छ । मन्त्री यादवले भन्नुभयो, “प्रोटोकलमा हस्ताक्षर गर्ने विषय बिहीबारको मन्त्रिपरिषद्को बैठकले टुङ्गो लागेमा यो प्रक्रिया अझै छिटो हुन्छ । ”

नेपालबाट इजरायल सरकारले केयर गिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो । नेपालका लागि इजरायलका राजदूत गोडरले नेपाल र इजरायल बीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्दै जनावरीदेखि श्रमिक छनोटको प्रक्रिया सुरु गरिने बताउनुभयो ।

गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो। उक्त सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै सङ्ख्यामा नेपालबाट दक्ष श्रमिक इजरायल जाने छन् । गोरखापत्र दैनिकमा खबर छ ।