काठमाडौं:= आफ्नो उत्पादनको मोल पाउन पनि पटक–पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका छन् । चिनी उद्योगबाट उखुको रकम भुक्तानी नपाएपछि देशभरका उखु किसान काठमाडौंको माइतीघर आएर आइतबारदेखि फेरि आन्दोलन सुरु गरेका हुन् । उनीहरूले गत वर्षको पुस १६ गते आफूहरूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन् ।
मंसिर २६ गतेसम्ममा किसानका बाँकी बक्यौता सबै चुक्ता गर्न गरिएको सम्झौता एक वर्षसम्ममा मिल मालिकले पूरा नगरेकाले आफ्ना पीडा सुनाउन काठमाडौं नै आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रको भनाइ छ ।
गत २३ कात्तिकमा उनीहरू रकम भुक्तानी माग्दै काठमाडौं आएका थिए । त्यस समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए । यसबीचमा उनीहरूका माग सम्बोधन नभएपछि उनीहरू फेरि आन्दोलन आउन बाध्य भएका हुन् ।

आइतबार उनीहरू ‘श्रम, पसिनाको मूल्य पाऊँ’, ‘किसानहरू मार्न पाइँदैन’, ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया’, ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार अटेन किसान’, ‘२०७६ साल पुस १८ गते भएको पाँच बँुदे सम्झौता लागू गर’, ‘उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’, तपाईंलाई हिटर तापेर पैसा फिर्ता ल्याइदिनु, हामीलाई चप्पलमै न्यानो हुन्छ सरकार’, श्रम पसिनाको मूल्य पाऊँ, पेट छ खाली परिवार भोकले हाहाकार, घर छ टाढा छैन भाँडा, हामी किसानको दुःख बुझिदेऊ हे सरकार’ लगायतका विभिन्न नारा लेखिएका प्लाकार्डहरू बोकेर प्रदर्शनमा उपस्थित भएका थिए । यसअघि, रकम भुक्तानीको माग गर्दै किसानहरूले काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले ०७६ पुस १८ गते उखु किसानसँग पाँच बँुदे सम्झौता गरेको थियो ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको प्रतिबद्धता पूरा नभएको भन्दै किसानले फेरि आइतबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको सुरु गरेका हुन् । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरूले अझै उखुको पैसा पाएका पाएनन् र फेरि आन्दोलन गर्न बाध्य भएका छन् ।
उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पूरै पैसा नपाउँदासम्म आन्दोलन नरोकिने बताउनुभयो । संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरे पनि पैसा नआएकाले आफूहरू काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । मन्त्रालयले उद्योगीहरूको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगीबीच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरूको छ ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी रहेको बताउनुभयो ।
यसका लागि सर्लाहीबाट पाँच सयभन्दा बढी किसान काठमाडौं आएका छन् । सरकारले किसानसँग गरेको प्रतिबद्धताअनुसार एक वर्षको अवधिमा पनि बक्यैता रकम प्राप्त नभएपछि उनीहरू आन्दोलन गर्न बाध्य भएका हुन् ।

मिश्रले मन्त्रालयले ०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै पनि कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजेथा बिक्री गरेर भए पनि किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर, सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरूले गरेका छन् । संरक्षक मिश्रले सरकारले नै सम्झौताअनुसार काम नगरी किसानहरूलाई नियोजित पीडा दिइरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘खाना नखाई भोकै बसिन्छ, तर माग पूरा नभएसम्म आन्दोलन छाडिन्न’ । उखु किसानले चार वटा चिनी मिलबाट करोडौं रुपैयाँ पाउनुपर्ने छ । किसानले श्रीराम सुगर मिलबाट २६ करोड, इन्दिरा सुगर मिलबाट चार करोड ७० लाख, लुम्बिनी सुगर मिलबाट आठ करोड ४१ लाख र अन्नपूर्ण सुगर मिलबाट १७ करोड रुपयाँ पाउन बाँकी छ ।
आन्दोलनमा विवेकशील साझा पार्टीको ऐक्यबद्धता

उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको छ । उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका संघर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ ।’
विवेकशील साझाले विज्ञप्तिमा भनेको छ, ‘काठमाडौंको यो जाडोमा आइतबारदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पंक्तिमा पनि अनुरोध गर्दछौँ ।’ विवेकशील साझा पार्टीले समस्या समाधानका लागि जिम्मेवार बन्न सरकारलाई अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको छ । यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि संघर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ ।’




















