काठमाडौं := प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । वर्तमान सरकार निरन्तर रूपमा दमन, भ्रष्टाचार र कोरोना महामारी अव्यवस्थापनको पर्याय बन्न पुगेको आरोपसहित काङ्ग्रेसले ७७ वटै जिल्लामा यही मंसिर २९ गते विरोध प्रदर्शन गर्न लागेको हो।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्द्धन नेपाली कांग्रेसको ऐतिहासिक अभिभारा रहेको बताए । बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ।
यस्तै, कोभिड १९ रोकथाम तथा उपचारमा लापरवाही र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ।





















