[ संजीवकुमार मिश्रा ]
बारा:= बाराका माछापालक किसान र व्यवसायीले जिउँदो माछा ढुवानी सहज बनाउन सरकारसंग माग गरेका छन् । बाराको जलाशयमा उत्पादन गरिएको जिउँदो माछालाई बिक्रीको लागी राजधानी पु¥याउने क्रममा बाटोमा चेकजाचको नाममा धेरै कठिनाई व्योहोर्नु परेको पीडित व्यवसायी, किसानले बताएका छन ।
लकडाउनको कारण दाना नपाएर पोखरीको माछा जोगाउन सास्ती खेप्ने हामी किसानलाई सरकारको नियमनकारी निकायले अनलाईन बीलको नाममा दुःख दिईरहेको बारा पचरौता नगरपालिकाका माछा उत्पादक किसान जलन्धर सिंहले गुनासो गर्नुभयो ।
‘एक त हामी दाना नपाएर उत्पादन बढाउन सकेनौं,’ उहाँले भन्नु भयो, ‘बल्लतल्ल जोगाएको उत्पादन बजार पु¥याउदा अनलाईन बीलको झमेला खडा भएको छ ।’ आफुहरुको पेशा जोखिममा रहेको छ । जाडोमा तापक्रम घटेर माछा मरे पुरै लगानी डुब्ने चिन्ताले सताईरहेको उनले बताउनु भयो ।
१० डिग्री तापक्रम तल वा माथि हुने वितिकै माछाहरु आफै मर्छन्, उहाँले माछामा यो एउटा विरलै गुन भएको जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘म प्रत्येक वर्ष ५२ करोड भुरा उत्पादन गर्छु तर यसपाली १८ करोड भुरा मात्र उत्पादन गर्न सकेको जानकारी गराउनु भयो । यसरी यसपाली माछा उत्पादनमा ६० प्रतिशत सम्मको ह्रास आएको उहाँको भनाइ छ ।
सामान्य लेखपढ जानेका किसानलाई मोबाईल चलाउन समस्या रहेको अवस्थामा अनलाईन बीलको झमेलामा तान्न खोजिएको माछा सुपरजोन समन्वय समितिका अध्यक्ष रामकिशोर यादवले गुनासो गर्नुभयो ।
‘सरकारले किसानलाई सहज रुपले माछा व्यवसाय गर्न पाउने वातावरण बनाउनु प¥यो,’ उनले भने, ‘सरकारले बनाएको कानुन जनताले सहज रुपमा पालन गर्ने किसिमको हुनु पर्छ ।’ जनता, किसानलाई दुःख दिन कानून बन्दैन । तर कानूनकै नाममा नियमनकारी निकायका कर्मचारीले किसान व्यवसायीलाई दुःख दिईरहेको उहाँले आरोप लगाउनु भयो ।
जिउँदो माछा व्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगबहादुर साहले माछा ढुवानी र बजारीकरणमा अनेक समस्याको सामना गर्नु परेको जानकारी गराउनु भयो । ‘सरकारले स्थानीय उत्पादनलाई सहज रुपले बजारमा बिक्री वितरण गर्न पाउने पर्ने वातावरण बनाउनु पर्छ,’ उनले भने, ‘नेपाली उत्पादन नेपाली बजार सम्म पु¥याउन ढुवानी सहज हुनु पर्छ ।’ तर सरकारको नियमनकारी निकायले चेकजाँचको बहानामा ढुवानी कार्यमा अवरोध खडा गरेको उहाँले बताउनु भयो ।

कानूनी जटिलताको कारण माछा किसानहरु पलायन हुने अवस्थामा पुगेको उहाँले जानकारी गराउनु भयो । उत्पादन भएको माछा विक्री हुन सकेको छैन, उहाँले भन्नु भयो, ‘माछा किसानहरुले बैकबाट लिएको रकमको ब्याज समेत तिर्न सकेका छैन, उत्पादित माछा विक्री हुन सकेको छैन । बाराबाट हरेक दिन १६ लाखको जिउँदो माछा र तीन लाख बराबरको छडी माछा निर्यात हुने गरेको उहाँले बताउनु भयो । बारामा पान लिएका छ देखि ७ सय किसान रहेको उहाँले जानकारी गराउनु भयो ।
समस्या समाधानमा सहजीकरण गर्न उनीहरुले बाराका प्रमुख जिल्ला दिपकराज नेपाल, माछा सुपरजोन परियोजना ईकाई कार्यालय बाराका प्रमुख डा. सुरेन्द्र यादव, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डेयसंग आग्रह गर्नुभयो ।समस्या समाधानको लागि अर्थ र कृषि मन्त्रालय बीच समन्वय गरेर समस्या समाधान गर्न पहल गर्न किसान, व्यवसायीलाई सुझाव दिनु भएको थियो ।
बाराबाट मात्रैै पोखरी र तालतलैयाबाट हरेक साल ३० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन बाराका प्रमुख डा. सुरेन्द्र यादवले बताउनु भयो । बारा जिल्लामा मात्र २५ सय हेक्टर जग्गामा पोखरी रहेको उहाँले जानकारी दिनु भयो । ती मध्ये माछा पोकेट क्षेत्रमा मात्रै एक हजार ७ सय हेक्टर जग्गा क्षेत्रफलमा पोखरी रहेको उहाँले जानकारी गराउनु भयो ।
बारामा दर्तावाला माछा किसान एक हजार तीन सय रहेकोमा सुपरजोन क्षेत्र भित्र पाँच सय माछा किसानहरु रहेको उहाँले भन्नुभयो । नेपालमा हरेक वर्ष एक लाख मेट्रिक टन माछा खपत हुने गरेकोमा नेपालमा खपत हुने कुल माछा मध्ये लगभग ३० प्रतिशत माछा बाराबाट आपूर्ति हुने गरेको बताउनु भयो ।




















