बारा := सामाजिक संजाल दुरुपयोग गरी ठगी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।फेसबुक एकाउन्ट ह्याक गरी ‘३० हजार रुपैयाँ मेरो नाममा पठाऊ नत्र तिम्रो अश्लिल फोटोहरु सामाजिक संजालमा राखी बदनाम गरिदिन्छु’ भनि ३० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
पटकपटक फोन मार्फत धम्की आएपछि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ की एक महिलाले आजित भई जिल्ला प्रहरी कार्यालयमा सूचना दिएको जानकारी दिनु भयो । ती महिलाले दिएको त्यही सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला सप्तरी सितापुर गाउँपालिका ३ का नन्दलाल साहको छोरा ३१ वर्षीय रामदेव साह र जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका ४ का भुपाल गिरीकी छोरी २३ वर्षीया मनिषा गिरीलाई पक्राउ गरिएको प्रनाउ मिश्रले बताउनु भयो ।

महिलाले सूचना दिने वित्तिकै हामी फेसबुक ह्याक गर्ने मानिसको खोजतलासी शुरु गर्यौ उहाँले भन्नु भयो, ‘खोज तलास गर्दा गर्दै मानिसको यकिन हुनासाथ हामी यस कार्यालयबाट एउटा टोली खटायौ, टोलीले सक्रिय रुपमा आफनो काम गर्दै गयो र व्यक्तिको सुराक पत्ता लगाउन सफल भयो।
साह र गिरीको संंलग्नता भएको यकिन हुनासाथ ३० हजार रुपैयाँ उनीहरुले नाममा पठाइयो र आखिरमा मंसिर १४ गते जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ बजार स्थित आइएमईबाट ठगी गरेको रकम झिक्ने क्रममा रकम सहित पक्राउ गरिएको प्रनाउ मिश्रले जानकारी दिनुभयो । उनीहरु माथि अपराधिक लाभ मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको उहाँले बताउनु भयो ।