मौलिक संस्कृति परम्परालाई निरन्तरता दिदै इटहरीको थारु,चौधरी टोलमा सामा–चकेवा विसर्जन।

[ सुनिल चौधरी ]


झुम्का:= इटहरी उपमहानगरपालिका वडा नं. ४ चौधरी टोल वासीले समा चकेवा मनाउदै सोमवार बिसर्जन गरेको छ । प्रत्येक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको समापन गर्ने धार्मिक मान्यता अनुसार बिधिव विसर्जन गरेको हो ।

समा चकेवा चौधरी टोलकै पोखरीमा बिसर्जन गरेको छ । शुुसिला लेखीको नेतृत्वमा मौलिक संस्कृति परम्परालाई निरन्तरता दिई समा–चकेवा सम्वद्र्धनमा जुटेकी स्थानिय महिलाहरु माटोको कलात्मक प्रतिमुर्ति बनाएका थिए । माटोका बिभिन्न पात्रहरु बनाई लोकगीत गाउदै समा चकेवा मनाएको लेखिले जानकारी दिनु भयो ।

परम्पराअनुसार तराइमा छोरीचेली दिदीबहिनीले सामा खेल खेल्ने गरिन्छ । दिदीको स्नेह र भाइको पराक्रम नै यो संसारको एउटा सुन्दर पक्ष हो । सुन्दर पक्षलाई लिएर चौधरी टोलमा ८ डाली समा चकेवा बनाएको लेखीले बताउनु भयो । लेखी थारु महिला सभा जिल्ला सुनसरी कार्यवाहक अध्यक्ष पनि हुन् ।

पुरानो मौलिक परम्पराले डोहो¥याउँदै आएको थारु समुदायकोे महत्वपूर्ण पर्व सामा चखेवा पनि दिदीभाइबीचको माया प्रेम र स्नेहको प्रतीक हो । कात्तिक शुक्ल पञ्चमीका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्वको थारु महिलाहरुले सुरुवात गर्छन् । यही पर्वले नै एउटा समाजमा बस्ने हरेक पक्षको प्रतिनिधित्व गरेको हुन्छ । यो पुराणोक्त एउटा संस्कृति हो । यो पर्वको बारेमा पद्म पुराण, स्कन्ध पुराण लगायतले उल्लेख गरेको छ । जसमा उल्लेख गरिएको विषय अनुसार सामा र चखेवा(चारुवक्य) पतिपत्नी हुन् । उनीहरू नै यो गीति नाटक वा परम्पराका मुख्य पात्रहरू हुन् ।

यस पर्वको पहिलो दिन समूहमा गीत गाउँदै दिदीबहिनीहरू माटो खन्न जान्छन् । यस्तो माटो दाजुभाइबाट नै खनाउनु पर्छ भन्ने मान्यता हुन्छ । त्यही माटोबाट सामा चखेवा लगायत विभिन्न आकृति बनाउने गर्छन् । यही माटोको प्रतिमालाई बाँसको डालो वा सुपामा राखेर टोलटोल र चोकमा लगेर गीत गाउने चलन छ । कात्तिक पूर्णिमाको दिन सोही प्रतिमालाई विसर्जन गरेपछि यो पर्वको औपचारिक विसर्जन हुने गर्छ ।

स्कन्ध पुराणका अनुसार चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा(सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् ।

आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् । अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाले । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ । त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ । यो गीति संवादकोे माध्यमबाट अभिव्यक्त गर्ने गीति नाटक हो ।