रौतहट:= घर परिवारको ईज्जत जोगाउन रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा गोली हानी आफ्नै छोरीको हत्या गरिएको घटना बाहिर आएको छ । आफनै घरमा सुतीहरेको अवस्थामा अज्ञात समुहले कन्चटमा गोली हानी हत्या गरेको भनिएको घटनामा परिवारकै संलग्नता देखिएको रौतहट प्रहरीले आईतवार गौरमा पत्रकार सम्मेलन गरी जनाएको छ।
आमा शौच गर्न गएको बेला छोरी १७ वर्षिया अमृता कुमारी साहको गोली हानी हत्या भएको परिवारले प्रहरीलाई जानकारी दिएको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा अमृताको हत्यामा परिवारकै संलग्नता भेटिएको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सिद्धी विक्रम शाहले जानकारी दिनुभयो।
‘मृृतक अमृतासंग गाउँकै थारु भनिने ३० वर्षिय सोसिन्द्र प्रसाद भगतसंग प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरिक्षक शाहले भन्नु भयोे, ‘प्रेम सम्बन्ध गासेको दुबै जना भाग्ने तयारीमा थिए ।’ छोरी घरबाट भागेपछि ईज्जत जाने डरले परिवारकै योजनामा गोली हानी हत्या गरिएको अनुसन्धानको क्रममा खुलेको उहाँले जानकारी दिनुभयो।
२०७६ सालमा अमृताको सर्लाहीको विष्णु गाउपालिका ३ का रुपेश साहसंग मागी विवाह भएको थियो । विवाहको केही दिनपछि रुपेश माथि छुरा प्रहार समेत भएको थियो । रुपेश माथि आक्रमण भएपछि अमृता ससुरालबाट माईतीघर फिर्ता आएकी थिईन । अमृताका ससुराल पक्षले प्रेमी सोसेन्द्र र उनी बीच प्रेम सम्बन्ध रहेको जानकारी पाएपछि २०७७ असारमा सम्बन्ध विच्छेद गरेको थियो।

सम्बन्ध विच्छेद भएपछि माईतीमै बस्दै आएकी अमृताको बानी व्योहोरामा परिवर्तन नदेखेपछि परिवारको शाख समाजमा कायम राख्न हत्याको योजना बुनिन थाले।
अमृताको हत्या गर्न भारतमा आफन्त कहा पु¥याउन भनी लग्दै गरेको अवस्थामा अपराधीबाट हत्याको प्रयास गराउदा पनि परिवार असफल बनेको थियो । परिवारले छोरीको हत्या गराउन परोहा नगरपालिका ४ का छोटेलाल साह (अपराधी) लाई एक लाख ५० हजार रुपैयाँ नगद दिएका थिए।
तर त्यहाबाट ज्यान जोगाएर भाग्न सफलभएकी अमृता परिवारमा बस्दै आएकी थिईन । पछि मृतकका बाबु रामअयोध्या साह र भिनाजु रौतहट देवाही गोनाही नगरपालिका २ करुनियाका लक्ष्मण साहले मिलेर रौतहट देवाही गोनाही नगरपालिका २ करुनियाका कैमुल देवानलाई एक लाख रुपैय“ँ दिएर गोली हान्न लगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रौतहट देवाही गोनाही नगरपालिका २ करुनियाका ६० वर्षिय शेख अलियाश, सोही ठाउका बहुदल भने ईस्लाम अन्सारी, सोही ठाउका ३६ वर्षिय शेख ईम्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका ७ लौकाहाका ५५ वर्षिय रामअयोध्या साह, आमा सीता देवी साह र परोहा नगरपालिका ४ का ४६ वर्षिय छोटेलाल साहलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।




















