काठमाडौं:= नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उहाँ वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो।
योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नु हुनेछ ।
शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराउनु भएको छ । आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी बन्नु भएको हो। पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनु भएको छ ।
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी हुनु भयो ।नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले चुनाव सकिएसँगै पक्षधरता पनि सकिएको बताउनु भएको छ । उहाँले अव जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्नेसमेत बताउनु भयो ।




















