कोरोनाको चपेटामा डाक्टर, ३ महिनाको अवधिमा ४ चिकित्सकको निधन।

काठमाडौं:= कोरोना भाइरस (कोभिड–१९)को संक्रमण अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको छ । सबै देशले आ–आफ्नै हिसाबले यसलाई रोकथाम गर्ने प्रयास गरिहरहेका छन् । नेपालमा पनि यसको संक्रमण बढेसँगै यसबाट हुने मृत्युदर पनि बढ्दो छ । पछिल्लो समय नेपालमा ‘फ्रन्टलाइन’ मा बसेर काम गर्ने चिकित्सकहरू बढी प्रभावित देखिएका छन् । 

यतिवेला कोरोनाको विरुद्धको लडाइँका कमाण्डरहरू चिकित्सकीय औजार र औषधि बोक्ने चिकित्सकहरू नै हुन् । नागरिकको उपचार गर्नु चिकित्सकको दायित्व हो । यही दायित्व पूरा गर्दा गर्दै धेरै चिकित्सक तथा स्वास्थ्यकर्मी यसको चपेटामा पर्दै आएका छन् भने केहीले मृत्यु वरणसमेत गर्नुपरेको छ । 

चिकित्साकर्मीको माध्यमबाट लडिने कोरोनारूपी युद्धमा पहिलो संक्रमितमा जिल्ला अस्पताल, कपिलवस्तुमा कार्यरत नर्स हुनुभएको थियो भने त्यसयता धेरै स्वास्थ्यकर्मी, चिकित्सक संक्रमित भएका छन् । केहीले यसलाई जित्न सफल भएका छन् भने केहीले मृत्युवरणसमेत गर्न पुगेका छन्।

कोरोना संक्रमणबाट दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको केही दिनमा फेरि अर्का वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक डा. ध्रुुव शर्मा मुडभरीको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने चिकित्सकको संख्या चार पुगेको छ ।

ओम अस्पतालका संस्थापक तथा पूर्व–अध्यक्ष डा. मुडभरीलाई केही दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । ७८ वर्षीय डा. मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज भएर घर जानुभएको थियो । तर, घरमा बाथरुममा लडेर गम्भीर घाइते हुनुभएका उहाँलाई तत्कालै अस्पताल ल्याइएको थियो । अस्पतालमा उहाँ आइसियुमा उपचाररत हुनुहुन्थ्यो । वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. मुडभरी नेपालमा सर्जरी सुरु गर्र्ने डाक्टरमध्येका एक हुनुहुन्छ । पोखरा, बुटवल, राजविराज र बाजुरा जस्तो ठाउँमा सर्जरी सेवा सञ्चालन गर्न डा. मुडभरीको योगदान छ । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

केहीदिन पहिला बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृत्यु भएको थियो । बिरामीको उपचारकै क्रममा उहाँहरूको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले दुःख प्रकट गरेको थियो । केही दिनअघि कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहनुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा. नारायणबहादुर थापा हुनुहुन्थ्यो । डा. झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा. थापाको कात्तिक ३० गते आइतबार राति मृत्यु भएको थियो । कात्तिक दोस्रो साता कोरोना संक्रमित हुनुभएका प्राडा. झा त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

इशान बाल तथा महिला अस्पतालका अध्यक्षसमेत रहनुभएका डा. थापा नेपालमा बाल शल्यक्रिया सुरु गर्ने चिकित्सकमध्येका एक मानिनुहुन्छ । ८० वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पहिले कान्ति बाल अस्पतालको निर्देशकसमेत रहनुभएका थापा नेपालमा बाल शल्यक्रिया सुरु गर्ने चिकित्सकमध्येका एक हुनुहुन्छ । उहाँ नेप्लिज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्षसमेत हो । यस्तै, नेपाल बर्न सोसाइटीलगायत विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्थ्यो । 

बेलायतमा पेडियायाट्रिक सर्जरी पढ्नुभएका थापाले केही समय वीर अस्पतालमा पनि सेवा दिनुभएको थियो । पछि जापान सरकारको सहयोगमा कान्ति बाल अस्पताल सुरु भएपछि उहाँ त्यहीँ काम गर्न थाल्नुभयो । 

कान्तिमा डा. थापा र डा केशरबहादुर राजभण्डारीले शल्यक्रिया विभाग सुरु गर्नुभएको थियो । यो जोडीलाई नेपालमा पेडियाट्रिक सर्जरीको सुरुवातकर्ता मानिन्छ । २०५१ सालमा सरकारी सेवाबाट अवकाश पाएपछि डा. थापाले २०५२ सालमा निजी क्षेत्रबाट पहिलो बाल अस्पताल ‘इशान’ स्थापना गर्नुभएको थियो । १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ट तथा निजी क्षेत्रकै अब्बल सेवा दिने बाल अस्पतालको रूपमा परिचित छ ।

यसअघि, प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत एकजना वरिष्ठ चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो डाक्टरमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटा हुनुहुन्छ । भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा–३ घर हुनुभएका ५९ वर्षीय सापकोटाको निधन भएको थियो । गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि हुनुभएका डा. सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो भने उहाँको १५ गते बिहीबार मृत्यु भएको थियो । डा. सापकोटालाई बचाउन चिकित्सकहरूले नेपालमा उपलब्ध प्लाज्मा थेरापी, रेमडिसिभिरसहितको उपचार विधि चलाएका थिए । तर, यी उपचार विधिबाट पनि उहाँलाई बचाउन चिकित्सकहरू असफल भएका थिए । नेपाल सरकारको एघारौं तहमा कर्यरत डा. सापकोटा लामो समय उपत्यकाबाहिर सेवारत हुनुहुन्थ्यो ।

यस्तै, सिरहामा कोरोना भाइरस संक्रमणबाट स्वाथ्यकर्मीको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय गौरीशंकर देवको शनिबार राति मृत्यु भएको हो । स्थायी सप्तरी निवासी  देवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार देवको शनिबार राति ११ बजे उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । दुई हप्तादेखि आइसोलेसनमा उपचाररत हुनुहुन्थ्यो गौरीशंकर देव । 

संक्रमित र मृतकको संख्या बढिरहेका बेला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सबैभन्दा बढी असुरक्षित छन् । बिरामीबाट सरेको संक्रमणबाट चिकित्सकले दिनहुँ आफ्ना सहकर्मी गुमाइरहेका छन् । संक्रमणकै कारण विदेशमा पनि दर्जनौँ चिकित्सकको मृत्यु भइसकेको छ, र हजारौँ स्वास्थ्यकर्मी संक्रमित छन् ।

नेपालमा एकातर्फ चिकित्सकको मृत्यु हुने क्रम बढेको छ भने अर्कोतर्फ ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने चिकित्सकहरूको सुरक्षा र सेवा सुविधामा खासै चासो दिइएको पाइँदैन । जसको उदाहरण देशकै पुरानो अस्पताल वीर अस्पतालबाट प्रष्ट हुन्छ । 

कोरोना भाइरस संक्रमित बिरामीहरूको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरूको मनोबल गिराउने काम सरकारले गरेको आन्दोलनरत स्वास्थ्यकर्मीहरूको आरोप छ । उनीहरूले कोभिड–१९ भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा–सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन् ।

आफूहरूले पाउँदै आएको सेवा–सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्नेलगायत माग राख्दै कात्तिक २ गतेबाट आन्दोलन भएको थियो । चिकित्सकहरूले बिरामीहरूको उपचार सँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएका छन् । अस्पतालका करिब एक हजार चार सय कर्मचारीले चैतदेखि हालसम्मको कोभिड भत्ता पाएका छैनन् ।