क्वालालम्पुर(मलेसिया) := क्षमताभन्दा बढी काम गराइएका कामदारहरु काम गर्दागर्दै त्यहीँ ढल्छन् अनि भुइँमा बालुवामा राखिएको माछाजस्तै छटपटाउँछन् । यो डरलाग्दो भिडियोमा भुइँमा ढलेर छट्पटाउने कामदार या त नेपाली हुन् या त बंगलादेशी । मेडिकल सुरक्षाको सामान उत्पादन गर्ने मलेसियाका कम्पनीमा काम गर्ने कामदारहरु यसरी ढल्नुको कारण हो उनीहरुलाई जबरजस्ती क्षमताभन्दा बढी काम लगाइनु।
बेलायती अखबार मिररले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको यो भिडियो मलेसियामा त्यही कारखानामा काम गर्ने सहकर्मी कामदारले नै खिचेको बताएको छ । यी कामदार पञ्जा, पीपीइ जस्ता सामग्रीहरु उत्पादन गर्ने कारखानामा काम गर्छन् । अहिले कोरोनाभाइरस महामारी अत्याधिक भएकोले यी सामग्रीको माग उच्च छ र मागअनुसारको आपूर्ति गर्दा यी कामदारलाई जबरजस्ती काममा लगाइएको छ । यी सामग्री बेलायतको नेशनल हेल्थ सर्भिसले किन्छ ।
मिररको रिपोर्टअनुसार मलेसियाको टप ग्लोभ कारखानामा काम गर्ने ३० भन्दा धेरै कामदारलाई फोहर कोठामा कोचेर राखिन्छ । उनीहरुको चरम श्रम शोषण भइरहेको छ । मलेसियाको यो कम्पनीमा श्रमिकको अधिकारको उल्लंघन भएको कुरा उठेपछि अमेरिकाले यो कम्पनीका पञ्जामाथि प्रतिबन्ध लगाइसकेको छ । तर, बेलायतको नेशनल हेल्थ सर्भिस अन्तर्गतका अस्पतालमा भने यिनै पञ्जाहरु आपूर्ति गरिन्छन् ।
टप ग्लोभका कम्तीमा १७ जना कामदार यो महिनाको सुरुवातमा कोरोनाभाइरस संक्रमित पाइएपछि अस्पताल भर्ना गरिएका थिए तर अहिले उनीहरु संक्रमितको एउटा विशाल क्लस्टरको हिस्सा भएको विश्वास गरिन्छ जहाँ २ सयभन्दा बढी संक्रमित छन् । कम्पनीका कूल कामदारको एक चौथाइ अर्थात करिब ५ हजार ७ सय जना मेरुमा क्वारेन्टाइनमा छन् । यो ठाउँ क्वालालम्पुरबाट पश्चिममा रहेको औद्योगिक हब हो ।
कम्पनीका स्टाफहरु मुख्य गरी नेपाली र बंगलादेशी आप्रवासी हुन् । उनीहरुलाई कम्पनीले चलाएका होस्टेलमा राखिएको छ वा सस्ता होटलमा राखिएको छ । कोभिड–१९ महामारीको पहिलो लहरका बेला धेरै जनालाई कोचेर राखिएका होस्टेललाई मलेसिया र सिंगापुरमा भाइरस फैलिने मुख्य कारण मानिएको थियो । अहिले सार्वजनिक भएको भिडियो फुटेजमा कामदारहरु आफ्नो कारखानाको भुइँ वा होस्टेलको भुइँमा एक्कासी ढलिरहेका देखिन्छन् ।
तल दिइएको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस् :
एक कामदारले भने ‘टप ग्लोभका कामदारहरु यो स्थिति देखेर निकै डराइरहेका छन् ।’ कामदारहरु फ्लु र ज्वरोबाट ग्रसित भइरहेका छन् । मिर्गीजस्तो दौरा पर्ने र बेहोस हुने क्रम पनि बढेको छ । मलाई यस्तो महसुस भइरहेको छ मानौं कम्पनीलाई हाम्रो कुनै चिन्ता छैन । यतिसम्म कि हाम्रो लागि काम जारी राख्न सक्ने स्थिति नै छैन ।’
श्रमिकको गम्भीर स्थितिबारे पछिल्लो समय भएका घटनाहरुको केन्द्रमा टप ग्लोभ छ । यहाँ कामदारहरुले हप्तामा ६ दिनसम्म दिनमा घण्टाको १ पाउण्ड मात्रै पारिश्रमिक लिएर काम गर्छन् । आप्रवासी कामदारको अभिकारका अभियन्ता एन्डी हल भन्छन् ‘टप ग्लोभका कामदारहरुले दैनिक रुपमा कारखाना र उनीहरु बस्ने ठाउँमा सामाजिक दूरीको अभाव भएको भन्दै गुनासो गर्छन् । मैले यी चिन्ताका विषयहरुलाई लगातार टप ग्लदोभको व्यवस्थापनसम्म पुर्याएको छु तर उनीहरुले कुनै जवाफ दिँदैनन् ।’
टप ग्लोभले एक वर्षमा करिब ७४ अर्बको संख्यामा मेडिकल र औद्योगिक पञ्जाहरु बनाउँछ । यो पञ्जाको विश्वव्यापी बजारको करिब १ चौथाइ हो । यसका ग्राहकहरु बेलायतको नेशनल हेल्थ सर्भिससहित बेलायतबाटै संचालित आपूर्ति कम्पनीहरु छन् । अमेरिकी कस्टमले भने यो वर्षको सुरुवातमा कामदारहरुलाई जबरजस्ती काम लगाएको कुरा बाहिरिएपछि टप ग्लोभ आयातमा प्रतिबन्ध लगाएको छ । यो वर्षको सुरुवातमा त्यसरी बाहिर आउने कामदारहरुमध्ये ठूलो संख्यामा नेपालीहरु थिए ।एजेन्सी




















