महसंघमा हुने राजनीति अन्त्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फको उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतिले महासंघमा हुने राजनीति अन्त्य गरिने बताउनुभएको छ । नतिजाउन्मुख काम गर्न महासंघलाई राजनीतिमुक्त बनाउँदै वस्तुनिष्ठ व्यावसायिक संस्था बनाउन उहाँले सम्बद्ध सबै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ । नेपाल सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगतरूपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएकोले त्यो दिशामा जाने बाटो पनि निजी क्षेत्रले नै तय गर्नुपर्ने उहाँको भनाइ छ । ज्योतिले भन्नुभयो, ‘प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त संस्था बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो, व्यक्तिगत भने पनि टिमको कुरा त आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरू रहेकोले हामीले महासंघमा परिवर्तन चाहेका छौं ।’

साथीहरूलाई परेको समस्या र अप्ठ्यारोको एजेण्डा बोकेर आगाडि बढ्ने र सम्बन्धित सरकारी निकाय, सम्बन्धित संघ–संस्थामा गएर समस्या समाधान गर्ने र महासंघको गरिमा अझै उच्च बनाउने उद्देश्यले आफू र आफ्नो टिम अघि बढेको पनि उहाँले दाबी गर्नुभएको छ । व्यवसायीहरू समृद्ध हुँदा ठूला व्यवसायको मात्र नभई समग्र साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्ने, अन्यथा सीमित व्यक्तिले मात्र प्रगतिमा आर्थिक विकास नहुने उहाँको भनाइ छ । महासंघको, साझा समृद्धि र समावेशी विकासमा लाग्नुपर्छ भन्ने आफ्नो टिमको मुख्य एजेण्डा भएको पनि उहाँले जिकिर गर्नुभयो ।

अञ्जनको टिमलाई निर्यात व्यवसायी महासंघको साथ

निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमलाई साथ दिने भएको छ । निर्यात व्यवसायीको नीतिगत आवाज उठाउने संस्थाकारूपमा गठित उक्त संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उहाँको टिमलाई साथ दिने प्रतिबद्धता जनाएको हो । राजधानीमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले आगामी अध्यक्ष शेखर गोल्छाका लागि उपयुक्त र सशक्त टिम चाहिने भन्दै अञ्जनको टिमलाई अत्यधिक बहुमतले जिताउन आग्रह गर्नुभयो । अध्यक्ष गुरुङले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाका रूपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताउनुभयो । अर्का उपाध्यक्ष चण्डी अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने बताउनुभयो । महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दीर्घकालीन नीतिका लागि आफूले काम गर्ने बताउनुभयो । आगामी दिनमा देशभित्र रोजगारी सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउन सशक्त वस्तुगततर्फको नेतृत्व हुनुपर्ने र त्यो आफूले गर्नसक्ने उहाँको दाबी छ । जिल्ला नगरतर्फका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केही स्वार्थी व्यवसायीका कारण अन्य व्यवसायीले दुःख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मूल गर्ने दाबी गर्नुभयो । प्रधानले भन्नुभयो, ‘केही व्यवसायीले व्यक्तिगत स्वार्थका लागि नीतिगत भ्रष्टाचार गरिरहेका छन्, जसले गर्दा अन्य सबै उद्योगी व्यवसायीलाई असर पारेको छ, त्यसको सशक्त विरोध गर्नुपर्छ ।’ भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो अहिलेको ३ वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केही पूर्व–अध्यक्षले चेतावनी दिने गरेकोले काम गर्न समस्या परेको गुनासो गर्नुभयो ।