काठमाडौं:= नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेली शृंखला सक्किगोनी अबदेखी हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ। नेपाल टेलिभिजनले आफूहरूलाई बेवास्ता गरेपछि नेपाल टेलिभिजन छाड्नुपरेको निर्माता कलाकार कुमार कट्टेल जिग्रीले बताएका छन्।
सोमबार काठमाडौंंमा एक पत्रकार भेटघाट आयोजना गर्दै जिग्रीले अबबाट हास्यप्रधान टेली शृंखला सक्किगो नि नेपाल टेलिभिजनबाट बाहिरिएको बताए । यसै प्रसंगमा उनले भने, ‘हाम्रो टेली शृंखला गत चैतको दोस्रो साताबाट बन्द भएको हो । सक्किगो नि बन्द भएको आठ महिना बितिसक्दा पनि नेपाल टेलिभिजनले कार्यक्रमको प्रसंगमा हामीलाई एकपटक पनि फोन गरेन,’ उनले अगाडि थपे, ‘हाम्रो कार्यक्रम प्रसारण हुने समयमा हामीलाई जानकारी नै नदिई अर्को कार्यक्रम हालेपछि बाध्य भएर अर्को टेलिभिजन जानुपरेको हो । नेपाल टेलिभिजनबाट प्रसारण हुनेमध्ये सबैभन्दा बढी टीआरपी दिने कार्यक्रमलाई नै नेपाल टेलिभिजनले बेवस्ता गर्छ भने अरूले कस्तो व्यवहार भोग्नुपरेको होला ?’
नेपाल टेलिभिजनबाट लामो समयसम्म टेली शृंखला भद्रगोल प्रस्तुत गर्दैै आएपछि आफूहरूको मिडिया हबसँग सम्बन्ध बिग्रिएको त्यसपछि यो नयाँ टेली शृंखला सक्किगो नि जन्मिएको निर्माता कलाकार अर्जुन घिमिरेले बताए । नेपाल टेलिभिजनबाट २५ भागसम्म प्रसारण भइसकेको यो कार्यक्रम आगामी २५ मंसिर बेलुका ८ बजेबाट प्रसारण हुने पनि घिमिरेले जानकारी गराए । अब सक्किगो नि हरेक साता बिहीबार आउने पनि उनले जानकारी गराए ।
अब हिमालय टेलिभिजनबाट प्रसारण हुने सक्किगो नि विगतको भन्दा केही फरक शैलीको हुने पनि अर्जुन घिमिरेले बताएका छन् । विगतमा पाँचखालमा छायांकन हुँदै आएको यो टेली शृंखला अब अर्को स्थानमा छायांकन हुने पनि उनले बताएका छन् ।रमजधानि दैनिकमा खबर छ । यो टेली शृंखलामा अब कलाकारहरू पनि फेरबदल हुने भएका छन् । नेपाली हास्यप्रधान टेली शृंखलाहरूमध्ये युट्युब च्यानलमा छोटो समयमा सबैभन्दा बढी पटक हेरेर रेकर्ड बनाएको सक्किगो नि फेरि सोही लोकप्रियतामा पुग्ने पनि अर्जुन घिमिरेको कथन छ । यो टेली शृंखलालाई कुमार कट्टेल, अर्जुन घिमिरे र दीपक आचार्यले निर्देशन गर्दै आएका हुन् । आफूहरूको पुरोनो टिम यथावत् रहेको पनि घिमिरेले जानकारी गराएका छन् ।
यता हिमालय टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक श्याम कँडेलले सक्किगो नि जस्तो टेली शृंखलालाई आफ्नो टेलिभिजनबाट प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको सो कार्यक्रममा बताए । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो टेली शृंखलालाई आफूहरूले राम्रो रूपमा प्रस्तुत गर्ने पनि उनले बताए । यस्तै, सोही टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पछिल्लो समय आफूहरूले गुणस्तरीय कार्यक्रमलाई महत्व दिएको बताए । हास्य टेली शृंखला सक्किगो नि गुणस्तरीय रूपमा आफ्नो टेलिभिजनबाट प्रस्तुत हुने उनले जिकिर गरे ।




















