बारा := नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेका मध्येका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका वडा न ४ माधवन बस्ने ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार उत्तम भनिने निरञ्जन तिवारीलाई वीरगञ्ज महानगरपालिका वडा न १६ स्थित इनर्वा गाउँमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
कात्तिक ६ गते नेकपाले विन्दवासिनी गाउँपालिका वडा न ५ स्थित प्रसौनीभाठामा आयोजना गरेको सपथग्रहण कार्यक्रममा पार्टीका दुई गुठ बीच झडप हुँदा गम्भीर रुपले घाइते भएका मुकेश चौरसियाको मृत्यूसँगै तिवारी फरार भएका थिए । झडपमा तिवारी पनि घाइते भएका थिए । चौरसियाको हत्याको आरोपमा परिवारका सदस्यले पूर्व सभासद् राजुकमार गुप्तासहित १२ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।




















