काठमाडौं:= नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरी’ पीकेडन’ले थारु भाषाको गीत तथा म्युजिक भिडियो निर्देशनमा पाइला चालेका छन् । पुर्वी थारु भाषामा ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्याम लागैये’ गीतको म्युजिक भिडियो मार्फत निर्देशन सुरु गरेका हुन् ।
आइतबार देवदत क्रिएशन मार्फत नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थारु भाषाको उक्त गीतको शब्द रचना प्रदीपकै रहेको छ । यस्तै पश्चिम कैलालीकी चर्चित गायिका अन्नु चौधरी र चितवनका गायक मनोज महतोले स्वर दिएका छन् ।
यस्तै श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको गीतमा पूर्वमेचीदेखि पश्चिम् महाकालीसम्मका दर्शक सबैले बुझ्ने सजिलो मानक भाषाको सानो प्रयोग गरिएको छ ।
गीतमा सुदिप खतिवडाले संगीत भरेका छन् भने सप्तरीका प्रसिद्ध थारु गायक विजय चौधरीले संगीत संयोजन गरेका छन् । यता, गीतको म्युजिक भिडियोमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् भने आकृति चौधरीले यसैगीत मार्फत डेब्यू गरकी छिन् ।




















