काठमाडौं := वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा हिजोदेखि पुनः सुरु भएको छ।
कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो । तर भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी हिजो सोमबारदेखि पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको ताहाचल कार्यालयले एक सुचना सार्वजनिक गर्दै जनाएको छ।

कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ । कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन लाइनमा बस्ने र त्यसभन्दा अघि साबुनपानीले हात धुनुपर्नेछ । सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।




















